प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार



फिदिम, ३१ साउन

पाँचथरका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधार निर्मण कार्यलाई पूर्णता दिँदै लगेका छन् ।

अधिकांश स्थानीय तहहरुले स्थानीय तहको प्रशासकीय भवन लगायत संरचना तथा वडा कार्यालयहरु निर्माणको कार्य पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८/०७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रवन्ध गरेका छन् । पाँचथरमा आठ वटै स्थानीय तहहरुले चालु आ.व.को नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानीय तहले भने चालु आ.व.मा पालिका र वडाका कार्यालय भवन निर्माण पूरा गर्दैछन् ।

फिदिम नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत विगत चार वर्षदेखि प्रशासकीय भवन निर्माण गर्दै आएको छ । भवनका दुई तला प्रयोगमा आइसकेका छन् । भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय गत वर्ष नै आफ्नै कार्यालयमा सरेको छ । भवनको बाँकी दुई तला चालु आ.व.मा सम्पन्न गर्ने लक्ष्यका साथ बजेट छुट्ट्याई काम भइरहेको फिदिम नगरपालिकाले जनाएको छ । फिदिम नगरपालिकाको वडा नं. ८ बाहेक बाँकी १३ वटै वडाका वडा कार्यालय भवन चालु आ.व.मा निर्माण सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य लिएको उपप्रमुख उर्मिला प्रधानले जानकारी दिनुभयो । निर्माणको सुरुआत नभएका वडा नं. १, ४ लगायतका वडा कार्यालय भवन समेत चालु आ.व.मा सम्पन्न गर्न बजेटको प्रवन्ध गरिएको छ ।

उत्तरी याङवरक गाउँपालिकाले तीन तले प्रशासकीय भवन १४ महिनाअघि निर्माण थालेको थियो । चालु आ.व. पहिलो तला ढलान गरी सञ्चालनमा ल्याउन आफूहरु प्रयासरत रहेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाई छ । याङवरकले पाँच करोड ४१ लाख ४३ हजारको लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ । गत वर्षको जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्छ ।

यद्यपी कोभिड–१९ सङ्क्रमणको महामारीका कारण यहाँको भवन निर्माण कार्य प्रभावित बनेको हो । प्रशासकीय भवन निर्माणका विषयमा अदालतमा मुद्दा परेपछि निर्माण कार्य समयमा सुरु गर्न नसक्दा आफ्नै कार्यकालमा भवन निर्माण पूरा गर्न नसकिएको उपाध्यक्ष योङहाङले वताउनुभयो । याङवरकका छ वटा वडाहरु मध्ये वडा नं. २ र ५ को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाँकी वडा कार्यालयहरुले आफ्नै पक्की भवनबाट सेवा दिँदै आएका छन् ।

दक्षिणी मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्यलाई पूर्णतातर्फ लगेका छन् । मिक्लाजुङको भवन मिक्लाजुङ–४ रबी तथा तुम्बेवाको तुम्बेवा–३ मौवामा निर्माणाधीन छन् । कुनै जटिलता नआए यी गाउँपालिकाले चालु आ.व.बाटै प्रशासकीय भवन तथा अधिकांश वडाका भवनहरुबाट सेवा सञ्चालन गर्नेछन् । दुवै गाउँपालिकाले संघ र प्रदेश सरकारसँग लागत साझेदारीमा प्रशासकीय भवन निर्माण गरिरहेका छन् ।

जिल्लाको फाल्गुनन्दमा गत आ.व.मा प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको वडा नं. ५ मा निःशुल्क जग्गा प्राप्त गरेको छ । प्रशासकीय भवन सहित अन्य सार्वजनिक संरचना निर्माणका लागि गत आ.व.मा मात्रै ६० रोपनीभन्दा बढी जग्गा प्राप्त भएकाले चालु आ.व.मा प्रशासकीय भवन निर्माणको सुरुआत हुने गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । संघ तथा प्रदेश सरकारसँग लागत साझेदारी गरी निर्माण कार्य थालिने कुरुम्बाङले वताउनुभयो ।

वि.सं. २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको काम थालेको छोटो समयमै निधन हुँदा यहाँ गाउँपालिकाको केन्द्र निर्धारणको विवाद समेत समाधान हुन सकेको थिएन । गत वर्षको उपनिर्वाचनबाट कुरुम्बाङ अध्यक्ष चुनिएपनि भौतिक संरचना निर्माणका प्रकृयाले गति लिएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिकाले गत आ.व.मा मात्रै प्रशासकीय भवन निर्माण गर्ने जग्गा प्राप्त गरेको छ । गत आ.व.मा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी माटो परीक्षण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । संघ र प्रदेश सरकारसँग थप अनुदानका लागि प्रस्ताव गर्दै हिलिहाङले प्रशासकीय भवन निर्माणका लागि दुई करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । हिलिहाङले वडा नं. १ र ५ को वडा कार्यालय भवन निर्माणका लागि समपुरक अनुदान प्राप्त भएको जनाएको छ ।

वडा नं. २, ३, ६ र ७ का भवन निर्माणका लागि चालु आ.व.मा जग्गा प्राप्ति गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । वडा नं. ४ को भवनमा भने अहिले गाउँपालिकाको कार्यालय रहेकाले गाउँपालिकाले नयाँ भवन निर्माण गरेपछि वडा कार्यालय आफ्नै भवन साविक पञ्चमी गाविसको कार्यालयमा सर्नेछ । यो गाउँपालिकाले एक वडा एक सामुदायिक भवनको नीतिअनुसार भवन निर्माण गर्दै आएको छ ।

कुम्मायक गाउँपालिकाले कुम्मायक–१ रानीगाउँ टोलमा जग्गा प्राप्त गरी चालु आ.व.बाट निर्माण कार्य थाल्ने भएको छ । यस्तै सबै वडामा वडा कार्यालय निर्माण र पाँच वटै वडाहरुमा सभाहल निर्माण कार्यलाई क्रमशः सम्पन्न गर्ने विषयलाई चालु आ.व.को नीति तथा कार्यक्रममा समेटेको छ ।

उत्तरी फालेलुङले गत आ.व.बाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालेको थियो । गत वर्ष असोज २७ गते फालेलुङ–३ थोक्लिम्बामा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास भएको थियो । हालसम्म पहिलो तला ढलान सम्पन्न भएको छ । चालु आ.व.मा निर्माण कार्यलाई निरन्तरता दिन गाउँपालिकाले १ करोड २४ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।

यहाँ तीन वर्षे ठेक्का सम्झौता गरी तीन तले प्रशासकीय भवन बन्न लागेको हो । यस गाउँपालिकामा वडा नं. ५, ६, ७ र ८ का वटा वडा कार्यालय भवनहरु जनप्रतिनिधि निर्वाचित भएपछि निर्माण पूरा भई सञ्चालनमा आएका छन् । भवन निर्माण बाँकी रहेका चार वटा वडामा दुई महिनाभित्रै भवन निर्माण पूरा भई सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिनुभयो ।

चालु आ.व.मा स्थानीय तहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुने भएकाले समेत सबै स्थानीय तहहरुले भवन सहित प्रशासकीय पूर्वाधार निर्माणमा जोड दिएका हुन् । तीन तहको संघीय संरचनालाई संस्थागत गर्न गाउँपालिकालाई संस्थागत गर्नुपर्ने भएकाले विशेष महत्वका साथ भौतिक संरचना निर्माण थालिएको जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे वताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्