
फिदिम, ३१ साउन
जारी निषेधाज्ञालाई खुकुलो पारिएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले कार्यालयको सेवा प्रवाहमा आलोपालो प्रणाली लागू गरेको छ ।
स्थानीय तहका आधारमा साताका तीन दिनमा सेवा प्रवाहका लागि आलोपालो प्रणाली लागू गरिएको हो । जसअनुसार कार्यालयले आइतवार फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ ।
यस्तै मङ्गलबार हिलिहाङ, याङवरक र फाल्गुनन्द गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान हुनेछ । कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका सेवाग्राहीले विहीवार सेवा पाउनेछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी धनञ्जयकुमार शाहले आज सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा भीडभाड नियन्त्रण र ब्यवस्थापन गर्न आलोपालो सेवा प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।
सेवा सदा झैँ विहान १० बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने सूचनामा उल्लेख छ । पाँचथरमा भोली मध्यरातबाट निषेधाज्ञालाई खुकुलो पारिएको छ ।