‘एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?’



फिदिम । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी)बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे उल्लेख गरेको नपाएको भन्दै सोधे, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसीसी बिर्सिनुभयो क्या हो ।’ उनले प्रश्न गरे, ‘खै मैले त देखिनँ । छैन कहीँ ।’

प्रधानमन्त्री पदमा रहेका बेला एमसीसी पास गर्नुपर्छ भनेर ओलीले अभिव्यक्ति दिएका थिए । उनले ती अभिव्यक्तिका भिडियो सार्वजनिक गरेर अहिले वातावरण बनाउन खोजिएको भन्दै प्रश्न गरे ‘तपाईंको साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ?’

प्रधानमन्त्री देउवालाई १ सय ६५ सांसदको समर्थन रहेको भन्दै त्यसले के गर्छ भनेर उनले देउवालाई प्रश्न गरेका हुन् । उनले यसबारे जनताले जान्न चाहेको बताए । देउवालाई समर्थन गर्ने सांसदहरूलाई लक्षित गर्दै ओलीले भने, ‘तपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?’

प्रतिक्रिया दिनुहोस्