कक्षा १२ को परीक्षा स्थगित



फिदिम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।

बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्नेगरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।

परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो ।

बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्