भूमिसम्बन्धी आयोग विघटन गर्ने निर्णय सच्याउन माग



फिदिम, २१ साउन

अखिल नेपाल किसान महासंघ पाँचथरले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय सच्याउन सरकारसँग माग गरेको छ ।

आयोग विघटन गर्ने निर्णयले जग्गा र लालपूर्जा पाउन लागेका लाखौँ भूमिहीन उक्त अधिकारबाट बञ्चित भएको भन्दै महासंघले विघटनको निर्णय सच्याउन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको हो ।

आयोगले धमाधम काम गरिरहेको, सबै स्थानीय तहहरुसँग कार्यसम्पादन सम्झौता भइसकेको, भूमिहीनको लगत सङ्कलन तथा प्रमाणिकरण गरी जग्गा उपलब्ध गराउने चाँजोपाँजो मिल्न लागेको अवस्थामा आयोग विघटन हुँदा भूमिहीनले जग्गा प्राप्त गर्ने अधिकारबाट सदाका लागि बञ्चित हुनुपर्ने अवस्था आउने महासंघको भनाई छ । महासंघ जिल्ला समन्वय समितिले आज निमित्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ओलीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

संवैधानिक ब्यवस्थाअनुसार गठन भएको आयोगले पूर्णत स्थानीय तहका संरचनामा आधारित भई कार्य गरिरहेको अवस्थामा राजनीतिक प्रतिसोध लिने मनसायले आयोग विघटन हुनु दुर्भाग्यपूर्ण रहेको महासंघ पाँचथरका अध्यक्ष महेन्द्रप्रसाद लुइटेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

महासंघले आफूसँग जमिन नहुँदा जोखिमपूर्ण जीवन विताउन बाध्य भूमिहीनका समस्या समाधानमा जिम्मेवार बन्न र विघठित आयोगले हालसम्म गरेको उपलब्धिहरुलाई समेट्दै आयोगलाई निरन्तरता दिन आग्रह गरेको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख एवं एमालेका नेता विष्णुप्रसाद सापकोटा लगायतको समेत उपस्थिति थियो । ज्ञापनपत्र बुझ्दै निमित्त प्रजिअ ओलीले नियमानुसार ज्ञापनपत्र उपल्ला निकायमा पठाइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्