तीन दिनमा २२० जनाको एण्टिजेन परीक्षण, ७५ जनामा कोरोना पुष्टि



फिदिम । पाँचथरमा पछिल्लो तीन दिनमा २२० जनाको एण्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार उक्त संख्यामा परीक्षण भई सङ्क्रमित थप भएका हुन् । यो तथ्याङ्कअनुसार परीक्षण गरिएका ३४ प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा प्रशासन कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार साउन १८ गते सोमवार ७० जनाको एण्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १९ गते मंगलबार १०० जनाको एण्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि थियो भने साउन २० गते बुधवार ५० जनाको एण्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यी सङ्क्रमित थपिएसँगै जिल्लामा कूल सङ्क्रमितको संख्या ३ हजार ३३६ पुगेको छ । जसमध्ये २ हजार ६६३ जना सङ्क्रमणमुक्त भएका छन् ।

पाँचथरमा अहिले एचडीयूमा १४ जना तथा आइसोलेसनमा ३ जना उपचाररत छन् । यो तीन दिनको अवधिमा तीन जनाको कोभिड–१९ सङ्क्रमणका कारण ज्यान गएको छ ।

पीसीआर परीक्षणका लागि बुधवार ६२ जनाको स्वाब सङ्कलन गरी विराटनगर पठाइएको छ । २८ बेडको एचडीयू र १५९ थान अक्सिजन सिलिण्डर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्