एउटा खोपका लागि भौतारिएका ७७ वर्षीय रामकुमार राईको संघर्षको कथा



रवीन्द्र काफ्ले

फिदिम, २० साउन

कोभिड–१९ दोश्रो लहर जिल्लामा फैलनुअघि नै जेष्ठ नागरिकहरु तथा अत्यावाश्यक सेवाका ब्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोश्रो डोज नआएपनि १३ हजार बढीले कोभिशिल्ड खोप लगाए, जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीन पटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले यो खोप पाए । तर कतिपयले खोप लगाउन वास्ता गरेनन् । कसैले अफवाहका पछि लागेर खोप लगाउन मानेनन् । कतिपयले खोप लगाउन पाउने कुराको जानकारी नै पाएनन् ।

कोभिड–१९ को पहिलो लहरले पाँचथरको ग्रामीण जनजीवनमा ठूलो प्रभाव पारेन । गाउँमा निकै न्यून सङ्क्रमित हुनाले जनजीवन सहज र नियमित गतिमै अगाडी बढ्यो । दोश्रो लहरको प्रभाव भने निकै गहिरो भयो । तीन हजार ३०० बढी जिल्लावासीहरु दोश्रो लहरबाट सङ्क्रमित भइसक्दा गाउँ–वस्तीहरुको धारणा बदलिएको छ । गाउँभरि मान्छेहरु विरामी पर्ने, सामान्य औषधि समेत नपाइने र कोभिड–१९ सङ्क्रमणको महामारीले आतङ्कको स्वरुप लिएपछि मानिसहरु थोरै भएपनि सचेत हुनेतर्फ लागे ।

दोश्रो लहरले ल्याएको आतङ्कले आम मानिसमा कोभिड–१९ विरुद्धको खोप लगाउनै पर्ने रहेछ भन्ने सन्देश दियो । त्यही कारण खोप केन्द्रहरुमा मानिसहरुको भीड लाग्न थाल्यो । यो शनिवारदेखि मंगलबारसम्म चलाइएको भेरोसेल खोप दिने अभियानमा ठूलै भीडभाड देखिए ।

तर, यही भीड भित्र बेथितिसँग मौन आन्दोलन गर्दैगर्दा भेटिनुभयो ७७ वर्षीय रामकुमार राई । धेरै टाढा त होइन, फिदिम नगरपालिका–१ दुमाका रामकुमारले ‘खोप लगाए कोरोना लागिहाले पनि धेरै गाह्रो पर्दैन’ भन्ने सुन्नुभएको रहेछ । सोमवार दिउँसो करीब २ बजे स्वास्थ्य कार्यालय पाँचथरमा खोप लगाउँदै गरेको स्थानछेउ अन्य जेष्ठ नागरिकसँग भेटिनुभयो उहाँ ।

विहान ११ बजेतिर खोप केन्द्र आई नागरिकताको प्रमाणपत्र बुझाउनुभएका राईले समयमै खोप पाइएला र लगाउँला भन्ने सोच्नुभएको रहेछ । तर पालो नआएपछि कतै पालो आइहाल्ला कि भनेर ८७ वर्षीय छिमेकी श्रीभक्त राईसँगै उहाँ कहिले खोप लगाएको ठाउँ पुग्नु भयो त कहिले खोप कार्ड वितरण भइरहेको स्वास्थ्य कार्यालयको ढोकाअघि ।

“अघि ११–१२ बजेतिर आएको थिएँ । नागरिकता पनि बुझाएको छु । पानी पर्न आँटिसक्यो । हाम्रो पालो आउँदैन् रे ?”, यहाँ आउनुभएको कति समय भो भन्ने प्रश्नमाथि प्रतिप्रश्न गर्दै राईले भन्नुभयो, “अहिले आउँदै गरेको मान्छेहरु सुई हानेर गइसके । हाम्रो पालो किन आएन ? बुझिदिनुस् न ।”

पानी झर्नै आँटे जसरी आकाशमा बादल मडारिरहेको थियो । स्वास्थ्य कार्यालय परिसरमा ठेलामठेल गर्दै मानिसहरु खोप लगाउने अवसर खोजिरहेका थिए । तर डाँडाको घामजस्तो उमेरका राईलाई पानीबाट जोगिएर कसरी सुरक्षित रुपमा घर पुग्नु भन्ने चिन्ता थियो । पानी परिरहने, घर जाने बाटोमा छेउभित्ता खसिरहने डरले राईको मन घरैमा पुगिसकेको थियो । उहाँ घरी घर हिडिहाल्न खोजेर स्वास्थ्य कार्यालयको गेटमा पुग्नुहुन्थ्यो त घरी भीडको पछिल्तिर आएर नाम आइहाल्ला कि भनेर सुन्नुहुन्थ्यो । तर ११ बजेदेखि ३ः४५ बजेसम्म बस्दा समेत उहाँको पालो आएन ।

हुन् त, उहाँको पालो आओस् पनि कसरी ? उहाँको नाम कागजमा टिपेर सुटुक्क भित्र पु¥याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने कोही थिएन । उहाँले चिनेको न ठूलो मान्छे थियो, न ठूलाहरुले उहाँलाई नै चिन्थे ।

चाउरी परेपनि उज्यालो अनुहार भएको, कपाल ढाकेर ढाका टोपी लगाएको, मुख छोपेर मास्क लगाएको, दौरा सुरुवाल र अस्कोट लगाएको, एक हातमा पाइप र बाँस जोडेर बनाएको लौरो टेकेको, अर्को हातले छाता च्यापेको, प्लाष्टिकको जुत्ता लगाएको खोपको एक असली हकदारलाई चिन्न न त्यहाँ जनप्रतिनिधि थिए, न कर्मचारी । गर्मी र भीडले निस्सासिएर ड्युटी गरिरहेका प्रहरीले त्यस्तो ख्याल गर्न सक्ने अवस्था थिए । अरुलाई त कसरी आफन्त, घरपरिवार, पार्टी र गुटका मान्छेलाई खोप दिनेभन्ने चिन्ता थियो ।

सुरुमा बुढापाकाले खोप पाउने हो भन्ने सुन्नुभएका उहाँ सबै आशा मरेपछि “नागरिकता फिर्ता पाइयो भने घर लाग्छु” भन्दै उहाँ स्वास्थ्य कार्यालयको ढोकाअघि भुईंमा बस्नु भयो । उहाँसँगै थिए श्रीभक्त राई, श्रीभक्तकी श्रीमती, फिदिम–४ का पदमबहादुर चौहान लगायत ८–१० जना जेष्ठ नागरिक ।

स्वास्थ्य कार्यालय भित्र खोपको प्रपञ्च गरिरहेका स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु तथा खोपको प्रवन्धका लागि बसेकाहरु खोप सकियो भन्ने सन्देश बाहिर पठाए । त्यहि बेला ढोकामा जेष्ठ नागरिकहरु ‘सानो मुख’ गरेर बसिरहेका थिए । उनीहरु न अरु जस्तो उफ्रिन र जोरजबरजस्ती गर्न सक्थे, न त पहुँचवालासम्म पुग्न नै । ‘निरीह’ जेष्ठ नागरिकहरुसँग मौन आन्दोलन गर्नुको विकल्प थिएन ।

खोप सकियो भन्ने सुनेपछि रामकुमार राई सहितका जेष्ठ नागरिकहरु नागरिकताको प्रमाणपत्र फिर्ता खोज्दै हुनुहुन्थ्यो । यत्तिकैमा फिदिमका युवाहरुको समूहले आपत्ति जनायो । “घण्टौंदेखि ढोकामा बसेका बा–आमा कसरी खोप दिदैनौँ हेरौँ त !” बाहिर आवाज उठ्यो । न मापदण्ड र उमेर समूह नै । पहुँचका आधारमा खोप वितरण गर्नेहरुका पसिना अब भने छुटे । हस्याङफस्याङ रामकुमार, श्रीभक्त, पदमबहादुर सहितका जेष्ठ नागरिकहरुलाई खोप दिइयो । अब त जेष्ठ नागरिकहरुले न पालो पर्खनु प¥यो, न लाइन नै लाग्नु ।

“बावु अन्तिममै भएपनि सुई लगाउन पाएँ”, खोप लगाएपछि रामकुमारले भन्नुभयो, “पानी झर्न लाग्यो । हामी चाहीँ लाग्यौँ (गयौँ) है ।”

सरकारले ५५ वर्ष माथिका सबै नागरिकलाई भेरोसेलको खोप उपलब्ध गराउने निर्णय गरेअनुसार रामकुमार राई सहितका जेष्ठ नागरिकहरुले सहजै खोप पाउनु पर्ने हो । तर जिल्लाको सदरमुकाम भएको वडाकै एक वृद्धले पाँच घण्टा कुरेपछि अरुले आवाज उठाइदिँदा बल्लतल्ल खोप पाउँछन् भने दूरदराजका सामान्य नागरिकहरुले कसरी सहजै खोप पाउलान् ? उनीहरुलाई कसले सही सन्देश पु¥याइदेला ? अरु विशेष प्रकारका स्वास्थ्य सेवाहरुको पहुँचमा यस्ता जेष्ठ नागरिकहरु कहिले पुग्लान ? खोप कुरिरहेकाहरुका प्रश्न थिए ।

प्रतिक्रिया दिनुहोस्