सरकारले दिएको खोपमा पहुँचवालाको खटन



फिदिम, १९ साउन

फिदिम नगरपालिका–४ गढीका ६५ वर्षीय डम्बरबहादुर चौहानले कोभिड–१९ विरुद्धको खोप लगाउन सोमवार विहान ११ बजे स्वास्थ्य कार्यालय पाँचथरमा नागरिकताको प्रमाणपत्र बुझाउनुभयो । वडा कार्यालयमार्फत खोप पाउने लाभग्राहीको सूचीमा नाम समेत टिपाइसकेकाले खोप पाउनेमा चौहान विश्वस्त हुनुहुन्थ्यो । दिउँसो ३ः३० बजेसम्म स्वास्थ्य कार्यालयको ढोकामा पालो खर्पनुभएका चौहानले अन्त्यमा खोप सकिएको सुनेपछि आफ्नो नागरिकताको प्रमाणपत्र फिर्ता माग्नुभयो ।

शनिवारदेखि सुरु भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउने अभियानमा चौहानले देख्दादेख्दै फिदिमका ब्यवसायीहरु, लक्का जवान युवा युवतीहरुले क्षणभरमा खोप पाए । उनी न लक्षित समूहका थिए, न खोप पाउन कुर्नुपर्ने झण्झट नै पाए । तर चार घण्टा बढी कुर्दा समेत खोप नपाएपछि नागरिकताको प्रमाणपत्र लिएर घर फर्कने मनस्थितिमा पुग्नुभएका चौहानका छेउ फिदिम–१ हेंवा खोलाका ७८ वर्षीय श्रीभक्त राई र फिदिम–१ दुमाका ७७ वर्षीय रामकुमार राई पनि हुनुहुन्थ्यो । “सरकारले दिएको खोप लगाउन हामीले भनसुन गर्नुपर्ने पो हो कि ?”, रामकुमार गर्दै हुनुहुन्थ्यो ।

दिनभरि टन्टलापुर घाम सहेर पालो पर्खेका जेष्ठ नागरिकहरु खोप नपाई घर फर्किन लागेको देखेपछि फिदिमका यामकुमार श्रेष्ठ सहितका युवाहरुले हो–हल्ला गरे । ड्युटीमा खटिएका सुरक्षाकर्मीहरु तथा खोपको प्रवन्ध गरिरहेका स्वास्थ्य कार्यालयका कर्मचारीको ध्यान बल्ल हो–हल्लाले तान्यो ।

स्वास्थ्य कार्यालय भित्र कर्मचारीहरु हस्याङफस्याङ गर्न थाले । खोप सकिनै लाग्दा लक्षित समूहका जेष्ठ नागरिकहरुले खोप नपाएको भेटेपछि उनीहरुमा दबाव प¥यो । उनीहरु सुरक्षाकर्मी सहित अत्यावाश्यक सेवाका अन्य ब्यक्तिका लागि जगेडा खोप खोतल्न भण्डारण गरिएको कोठातर्फ लागे ।

सोमवार खोप लगाउने भनि अत्यावाश्यक सेवामा आवद्ध ब्यक्तिहरु, सार्वजनिक यातायातका सवारी चालक तथा अन्य कामदारहरुलाई बोलाइएको थियो । तर, साँझ ५ बज्दासम्म सवारी चालक चेवन ढकालले खोप पाउनुभएको थिएन । “जिल्ला प्रशासन कार्यालयबाट सिफारिस बनाई स्वास्थ्य कार्यालयमा बुझाएपनि खोप पाइँन”, ढकालले भन्नुभयो, “तर मेरै आँखाअघि पहुँच भएका मानिसहरुले कुनै मापदण्डबिना खोप लगाए ।”

स्वास्थ्य कार्यालय पाँचथरमा गत शनिवारदेखि मङ्गलबारसम्म यस्तै दृश्यहरु देखिए । ५५ वर्ष माथिका नागरिक तथा अत्यावाश्यक सेवा अन्तर्गतका क्षेत्रहरुमा कार्यरत ब्यक्तिहरुका लागि निर्धारित भेरोसेल खोप पहुँचका आधामार वितरण भएपछि नागरिकहरुले तीब्र असन्तुष्टि ब्यक्त गरिरहेका छन् । छुटेका जेष्ठ नागरिकहरुले सोमवार दिउँसो ४ बजेसम्म खोप लगाई सकेपछि स्वास्थ्य कार्यालय परिसरमा जम्मा भएका स्थानीयवासीले बाँकी रहेको खोपको बिवरण सार्वजनिक गर्न दबाव दिए ।

स्वास्थ्य कार्यालयको खोप शाखा रहेका कर्मचारीहरुले ३८ वटा खोप बाँकी रहेको जानकारी दियो । लगत्तै सवारी चालक तथा यातायातका मजदूरहरु, अन्य ज्यालादारीका मजदूरहरु लगायत लाइन लागेर खोप लगाउन बसे । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली आई लाइन लागेकाहरु सम्झाउने प्रयास गरे । तर सम्भव नभएपछि उनीहरुले जबरजस्ती खोप लगाए र फर्किए ।

जिल्ला स्वास्थ्य कार्यालय पाँचथरमा फिदिम नगरपालिकाबाट सञ्चालित खोप अभियानमा पहुँचका आधारमा भेरोसेल खोपको वितरण भएपछि सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । यस पटक खोप प्राप्त गर्ने भनि लक्षित गरिएको समूहकै कतिपय ब्यक्तिहरुले शनिवारदेखि मंगलबारसम्म कुर्दा समेत खोप प्राप्त गर्न नसकेका हुन् । पहुँचवाला ब्यक्ति तथा निकायहरुले निर्धारित कोटा र ब्यक्तिहरु भन्दा अन्यलाई समेत खोप दिने प्रवन्ध गरेपछि समस्या आएको हो ।

खोप दिन सुरुआत गरिएको दिन शनिवार र दोश्रो दिन आइतवार लक्षित समूहभन्दा बाहिरका ब्यक्तिहरुलाई खोप दिइएको तथा सोमवार पहुँचका आधारमा खोप वितरण गरिएको फिदिमका स्थानीयवासीको गुनासो छ । सोमवार त पहुँचवालाले बाहिर नामको सूचि तयार पार्ने र भित्रबाट खोप कार्ड बनाई धमाधम खोप लगाउने गरेको पाइएको थियो । कतिसम्म भनें पहुँच हुनेहरुले स्वास्थ्य कार्यालयको परिसमा पुगेको १५ मिनेट नवित्दै खोप पाएका थिए ।

“लक्षित समूहमै नपरेका मानिसहरु सहजै र धमाधम खोप पाउने, तर जेष्ठ नागरिकहरु, सवारी साधनका मान्छेहरुले खोप नपाएको देखियो”, फिदिमका यामकुमार श्रेष्ठले भन्नुभयो, “राज्यले लक्षित समूह निर्धारण गरेको खोप पहुँचका आधारमा वितरण गर्ने परिपाटी देखियो ।” खोप लगाउने क्रममा समस्या सिर्जना हुँदै गएपछि विभिन्न विषयगत क्षेत्रका अगुवाहरु प्रतिनिधिहरुलाई स्वास्थ्य कार्यालयमा खटाई त्यहाँबाट निस्केका थिए । स्थानीयवासीले सरकारले दिएको खोपमा केही पहुँचवालाको खटन–पटन चलेको वताए ।

स्वास्थ्य कार्यालयमा सदरमुकम रहेको फिदिम नगरपालिका वडा नं. १, वडा नं. ४ तथा सदरमुकाममा रहेका लक्षित समूहका ब्यक्तिहरुलाई खोप दिने कार्यक्रम तय गरिएको थियो । धेरै लाभग्राही भएका कारण भीडभाड भई खोप लगाउने स्थानबाटै कोभिड–१९ को सङ्क्रमण फैलने खतरा देखिएको सञ्चारकर्मी शान्ति राईको भनाई छ ।

यस पटक जिल्लामा कूल १३ हजार डोज भेरोसिल खोप आएको थियो । जसमध्ये फिदिममा तीन हजार ८०० डोज राखिएको स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नारदमुनी सुवेदीले जानकारी दिनुभयो । विगतमा स्वास्थ्य कार्यालय आफैँले खोप अभियान सञ्चालन गरेको भएपनि त्यस विषयमा ‘कुरा उठेपछि’ खोप लगाउने सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइएको सुवेदीको भनाई छ ।

“द्विगज ब्यक्तिहरुबाट हामीले चलाउनु पर्ने खोप अभियान अर्कैले चलाएको भन्ने कुरा आएपछि सबै जिम्मा स्थानीय तहलाई दिएका हौँ”, सुवेदीले भन्नुभयो, “हाम्रो कार्यालय परिसरमा खोप अभियान चलाइएको मात्रै हो । जनप्रतिनिधिहरुले राम्रै गर्नु भो भन्ने हामीलाई लागेको छ ।” आफूहरु जिम्मेवारीबाट भाग्न नमिल्ने भएपनि मुख्य जिम्मेवारी स्थानीय तहको भएको उहाँको भनाई छ । खोप क्रमशः आइरहेकाले आत्तिन नपर्ने र फिदिमकै मानिसहरुले खोप लगाएकाले सबैले केही समय प्रतीक्षा गर्नुपर्ने सुवेदीको राय छ ।

प्रतिक्रिया दिनुहोस्