शैक्षिक तथा भाषा प्रतिष्ठानहरु १५ महिनादेखि बन्द, सञ्चालनको प्रवन्ध तथा राहत दिन माग



फिदिम, १७ साउन

कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्राय छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेषधाका समयमा समेत अन्य अधिकांश ब्यवसायहरु आंशिक रुपमा सञ्चालन भइरहे यहाँका नौ वटा प्रतिष्ठानहरु १५ महिनादेखि बन्द छन् ।

फिदिममा डेढ दशकदेखि सञ्चालनमा रहेको ‘न्यू मिलिस्टार कम्प्युटर इन्स्टिच्यूट’का सञ्चालक केशव पौडेलका अनुसार विगत १५ महिनादेखि घर भाडा बुझाएर बस्नु परेको छ । “पहिलो लकडाउनदेखि घर भाडा तिरेर बसेका छौँ”, पौडेलले भन्नुभयो, “उठाएर लैजान सम्भव छैन् । राखिरहे सञ्चालनमा ल्याउन पाइएन ।”

कतिपय विद्यार्थीको कम्प्युटर तथा भाषाको कोर्स पूरा गर्न नपाउँदा पैसा समेत फिर्ता गर्नु परेको पौडेलको भनाई छ । यस्तै यी प्रतिष्ठानहरुमा काम गर्ने शिक्षक तथा अन्य कर्मचारीलाई पारिश्रमिक दिएर टिकाइराख्नु पर्दा झनै समस्या भएको पौडेलको भनाई छ । “यतिका महिनादेखि कमाई खाने ठाँउ बन्द भयो”, उहाँले भन्नुभयो, “अब बन्द गरेर बस्ने कि खोल्ने भन्ने अन्यौल छ ।”

फिदिमै सञ्चालनमा रहेको ‘सोलुसन एजुकेशन फाउण्डेशन’का सञ्चालक घनेन्द्रराज मिश्रका अनुसार २०७६ चैतदेखि निरन्तर घरधनी र कर्मचारीलाई मासिक भुक्तानी दिइरहनु परेको छ । “कोरोनाका कारण ब्यवसाय डामाडोल भयो । १० लाख भन्दा बढी घाटा भइसक्यो”, मिश्रले भन्नुभयो, “सरोकारवालाहरुले केही चासो दिदैनन् । अव के गर्नु पर्ने हो अन्यौलमा छु ।”

फिदिमै भाषा कक्षा सञ्चालन गर्दै आएका ‘पाथीभरा कम्प्युटर एण्ड ल्याङ्वेज सेन्टर’का सञ्चालक युवराज अधिकारीको पनि गुनासो उस्तै छ । अहिलेसम्म ७ लाख भन्दा बढी नोक्सानी ब्यहोर्नु परेको अधिकारीको भनाई छ । कर्मचारी र घरधनीलाई नियमित रकम दिनुपर्दा मारमा परेको अधिकारीको गुनासो छ ।

फिदिममा सञ्चालनमा रहेका शैक्षिक तथा भाषाका सबै प्रष्तिठानहरुको अवस्था उस्तै छ । सरकारले विभिन्न चरणमा जारी गरेको निषेधाज्ञा इमान्दारिताका साथ पालना गरिरहे पनि निजी शैक्षिक तथा भाषा प्रशिक्षण क्षेत्रमा सरकारी निकाय तथा सरोकारवालाहरुले ध्यान नपु¥याउँदा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ ।

अन्य ब्यवसायहरु पूर्ण र आंशिक रुपमा सञ्चालन भएपनि प्रतिष्ठानहरु सञ्चालन गर्न समस्या परेको सञ्चालकहरुको भनाई छ । सङ्क्रमणको जोखिमका कारण कक्षामा राखेर विद्यार्थी पढाउन कठिन पर्ने तथा निषेधाज्ञाका कारण विद्यार्थी नै नहुने कारणले आफूहरुको ब्यवसाय सङ्कटमा परेको भन्दै उनीहरुले सरोकारवाला निकायलाई गुहार मागेका छन् ।

उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पाँचथर, फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य संघ पाँचथरमा ज्ञापन पत्र बुझाएका उनीहरुले ५० जनाभन्दा बढी कर्मचारी तथा शिक्षकहरु बेरोजगार भएको उल्लेख गरेका छन् ।

उनीहरुले शैक्षिक तथा भाषा प्रतिष्ठानका सञ्चालक, शिक्षक र कर्मचारीलाई खोप दिनुपर्ने, घरभाडामा सहुलियतका लागि सहयोग गर्नुपर्ने, स्थानीय तहले उचित राहतको ब्यवस्था गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रतिष्ठानहरु सञ्चालन गर्नका लागि शीघ्र नीतिगत ब्यवस्था गर्न माग गरेका छन् । फिदिममा अङ्ग्रेजी, कोरियन, जापानिज लगायत भाषाका, विभिन्न तहका शैक्षिक प्रशिक्षण र कम्प्युटर तथा शीप विकाससम्बन्धी प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्