
फिदिम, १७ साउन
युनियन लाइफ इन्स्योरेन्सले उक्त कम्पनीमा बिमा गराएका पाँचथरको याङवरक गाउँपालिका–१ का नरबहादुर दर्जीको परिवारलाई मृत्युदाबी भुक्तान गरेको छ ।
दर्जीले २०७७ मंसिर ३० गते सर्वाधिक जीवन बिमा योजनाअन्तर्गत बिमा गराउनुभएको थियो । रु. २७ हजार १९० प्रिमियम बुझाउनुभएका दर्जीको गत जेठ १९ गते निधन भएपछि युनियन लाइफ इन्स्योरेन्सले शनिवार याङवरक गाउँपालिका वडा नं. १ को कार्यालय च्याङथापूमा कार्यक्रमको आयोजना गरी मृत्युदाबी भुक्तान गरेको हो ।
याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका सदस्य नरबहादुर गुरुङको विशेष आतिथ्यता रहेको कार्यक्रममा मृतक दर्जीका श्रीमती गीता सिवालाई रु. ५ लाख १९ हजार ५०० को चेक मृत्युदाबी भुक्तानी स्वरुप हस्तान्तरण गरिएको युनियन लाइफ इन्स्योरेन्स फिदिम शाखाका प्रमुख ओमप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
सिवा याङवरक गाउँपालिका वडा नं. १ का वडा सदस्य समेत हुनुहुन्छ । मृत्युदाबी भुक्तान कार्यक्रममा च्याङथापूका स्थानीयवासीको उपस्थिति थियो । अभिकर्ता डिल्लीराम दाहालबाट दर्जीले जीवन बिमा गराउनुभएको उक्त इन्स्योरेन्सका शाखा प्रमुख खतिवडाले वताउनुभयो ।