४९ जनाको एण्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, १६ साउन

पाँचथरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार आज जिल्लाका विभिन्न स्थानमा गरी ४९ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा २२ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिवेदनमा जनाइएको छ ।

आज थपिएका सङ्क्रमित सहित जिल्लामा कूल सङ्क्रमितको संख्या ३ हजार २३१ पुगेको छ । यस्तै कूल सङ्क्रमितमध्ये २ हजार ५८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

पाँचथरमा अहिले कोभिड अस्पतालको एचडीयूमा १३ जना र आइसोलेसनमा २ जना उपचाररत रहेका छन् । जिल्लामा २८ बेडको एचडीयू र १५९ थान अक्सिजन सिलिण्डर रहेका छन् ।

यस्तै पाँचथरमा आजबाट ५५ वर्ष माथिका नागरिकका लागि भेरोसेल खोप लगाउने कार्यक्रम सुरु भएको छ । सो कार्यक्रम सोमवार सम्पन्न हुने स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्