पाँचथरमा परीक्षण गरिएका ५० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि



फिदिम, १४ साउन ।

पाँचथरमा कोरोना भाइरस सङ्क्रमण दर झनै बढ्दै गएको छ । विगतमा औषत सङ्क्रमण दर ४० प्रतिशत हुने गरेकामा पछिल्ला दिनमा सो प्रतिशत बढेर ५० को आसपास रहन थालेको हो ।

विहीवार पाँचथरमा परीक्षण गरिएका ५० प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । बुधवार दिउँसो ३ बजेदेखि विहीवार दिउँसो ३ बजेसम्मको २४ घण्टामा पाँचथरमा ७८ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा ३९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनले देखाएको छ ।

बुधवार पनि पाँचथरमा परीक्षण गरिएका ५० प्रतिशतमै कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । विहीवार ३९ जना सङ्क्रमित थपिएसँगै जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ३ हजार ४४ पुगेको छ । जसमध्ये २ हजार ४३८ जना निको भएका छन् ।

पाँचथरमा कोभिड अस्पतालमा उपचार गराउनेको संख्या समेत बढ्दै गइरहेको छ । हाल कोभिड अस्पतालको एचडीयूमा १६ जना र आइसोलेसनमा ४ जना सङ्क्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्