
फिदिम । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेश्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिनु भएको छ ।
विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उहाँले निर्देशन दिनु भएको हो । कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले सो निर्देशन दिनु भएको हो । मन्त्री राईले हामी तयारी अवस्थामै थिएनौ’ भन्ने छुट कसैलाई नहुने बताउनुभयो ।
कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारीमा रहन निर्देशन दिँदै उहाँले समस्या र चुनौतीको सबैले मिलेर मात्रा समाधान गर्न सकिने बताउनुभयो । कोरोना परास्तका लागि सबै एकजुट भए मात्र सम्भव हुने भन्दै उहाँले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताउनुभयो ।
मन्त्री राईले प्रत्येक जिल्लामा गठित डीसीसीएमसीले आफ्नो जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था, आवस्यकता र तयारी सहित जिल्लाको समस्या, आवस्यकता पहिचान गरि आवस्यक तयारी सहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिनु भएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।