एमाले अध्यक्ष ओली नेपाल समूहसँगको एकताको प्रयास तत्कालै निश्कर्षमा पुर्‍याउने पक्षमा



काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विवादलाई तत्कालै टुङ्गोमा पुर्‍याउन निर्देशन दिनुभएको छ । विवादको कारणले पार्टीका गतिविधि अघि बढ्न नसकेको भन्दै नेताहरुलाई तत्कालै विवाद वारपार लगाउन उहाँले निर्देशन दिनुभएको हो ।

पार्टीमा सधैँ एउटै कुरालाई लिएर अल्मलिएर बस्न नहुने भन्दै विवादलाई तत्कालै छिनोफानो गर्न निर्देशन दिएको एमाले पार्टी कार्यालयको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । “उहाँ (अध्यक्ष ओली) विघटित कार्यदलका सदस्यसँग निरन्तर संवादमा हुनुहुन्छ। आज पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा एउटै विवादमा पार्टीलाई अल्मल्याएर राख्न नहुने बताउनुभएको छ”, तामाङले भन्नुभयो ।

पार्टीभित्रमा फर्किन चाहनेलाई पर्खेर पार्टीको काम प्रभावित पार्न नहुने उहाँको भनाइ छ। “उहाँ (अध्यक्ष ओली) पार्टी एकता जोगाउन अधिकतम लचक भइसक्नुभयो। अब पार्टी एकताको पक्षमा हुनेहरु १० बुँदे सहमतिलाई लिएर अगाडि बढ्छन्। पार्टीमा फर्कनेहरूलाई हामी जहिले पनि स्वागत नै गछौँ”, तामाङले भन्नुभयो ।

प्रधानमन्त्रीबाट बहिगर्मनपछि पहिलो पटक बुधबार पार्टी कार्यालय थापाथली पुगेका अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई पार्टीभित्रको विवाद किनारा लगाउन निर्देशन दिनुभएको थियो । त्यसो त केही दिनअघि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले तयार पारेको १० बुँदे सहमतिको आधारमा रहेर एकता अघि बढ्ने वताउनुभएको थियो ।

प्रवक्ता ज्ञवालीले भन्नुभएको छ “हामीले उहाँहरूको माग बमोजिम पार्टीलाई ०७५ जेठ २ मै फर्काएर पार्टीको बैठक राखेका थियौँ। तर, उहाँहरू आउनुभएन। उहाँहरूको लागि अब धेरै कुरेर बस्न सकिँदैन। तत्काल नआए पार्टी एकताको ढोका खुला राखेर जान्छौँ। उहाँहरू पार्टीमा जुन दिन फर्किनुहुन्छ त्यही बेलामा जिम्मेवारी दिन्छौँ।”

एकतामा जोड

पार्टी एकताको लागि विभिन्न कोणबाट छलफल भइरहेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ वताउनुहुन्छ । “पार्टी एकताका लागि उहाँ (ओली) पनि लचिलो हुनुभएको छ। अब उहाँहरुले पनि परिस्थिति आँकलन गरेर सहमतिको बाटोमा आउनुपर्छ। १० बुँदे सहमतिलाई कार्यान्वयन गरेर अघि बढे एकता हुन्छ। एकता जोगाउन हामी अधिकतम प्रयासरत छौँ”, नेम्वाङले भन्नुभयो ।

यता, माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्य झपट रावलले विधि, पद्धतिबाट पार्टीलाई संस्थागत आधारमा चलाउने गरी सम्मानजनक एकता अहिलेको आवश्यकता बताउनुहुन्छ । रावलले सामाजिक सञ्जालमा भन्नुभएको छ “हाम्रो लडाइँ संसद् जोगाउनका लागि थियो। सरकारमा जान र मन्त्री बन्नका लागि थिएन। हाम्रो कारण संसद् जोगिएको छ। हामी सबैले सामूहिक रूपमा राजनीतिक जीवनलाई दाउमा राखेका थियौं। मूलतः हाम्रो (पार्टीको एकताका लागि बैशाख २७ गते संसद् बैठकमा अनुपस्थित हुने २८ सांसद र संसद् विघटन पछि प्रतिनिधिसभा बचाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने २३ जना सांसद) एमाले जोगाउने प्राथमिकता हो।”

प्रतिक्रिया दिनुहोस्