शिल्पा पति राज कुन्द्रामाथि आक्रोशित



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी पति राज कुन्द्रामाथि आक्रोशित भएकी छिन् । अश्लील भिडियो निर्माण प्रकरणमा मुम्बई प्रहरीको नियन्त्रणमा रहेका उनलाई देखेपछि शिल्पा आक्रोशित बनेकी हुन् ।

प्रहरीले पक्राउ गरेपछि पहिलोपटक प्रहरीसँगै घर पुगेका राजमाथि शिल्पाले आक्रोश पोखेकी हुन् । शिल्पाले राजलाई “यस्तो काम गर्नुको के आवश्यकता थियो ?” भन्दै कराएकी थिइन् । “हाम्रो आवश्यकताका सबै कुरा हामीसँग थिए । तर पनि यो गर्नुको के आवश्यकता परेको थियो ?” उनले राजलाई सोधेकी थिइन् ।

गएको शुक्रबार राजलाई लिएर प्रहरी उनको घर तलासीका लागि पुगेको थियो । प्रहरी स्रोतका अनुसार शिल्पाले राजको यो कार्यबाट पारिवारको प्रतिष्ठा बिग्रिएको, उनीहरुको उद्योगको इन्डोर्समेन्टहरु रद्द भएको र आफूले प्रोजेक्टहरु छोड्नु परेको भन्दै आक्रोश पोखेकी हुन् । ‘केस’ले गर्दा कुन्द्रा परिवारले धेरै आर्थिक क्षति व्यहोर्नु परेको भन्दै शिल्पा राजमाथि रुष्ट भएकी थिइन् ।

प्रहरीले अभिनेत्री शिल्पाले राजको भियान इन्डष्ट्रिको निर्देशक पदबाट राजीनामा दिनुको कारण पनि खोतलिरहेको छ । प्रहरीका अनुसार अश्लील चलचित्र निर्माण गरेर एपहरुमा प्रसारण गर्ने प्रकरणमा हालसम्म शिल्पाको कुनै सम्बन्ध देखिएको छैन ।

यता, राजको कम्पनीका चार कर्मचारीहरुले राजविरुद्ध बयान दर्ता गराएका छन् । मंगलबार राजलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्