
फिदिम, १३ साउन
पाँचथरमा बुधवार ५५ जना कोरोना भाइरसका सङ्क्रमित थप भएका छन् ।
पछिल्लो २४ घण्टामा फिदिम सहित जिल्लाका विभिन्न स्थानमा गरी कूल १०९ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यो तथ्याङ्कअनुसार आज परीक्षण गरिएका कूल ५०.४५ प्रतिशत ब्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । आज ५५ जना सङ्क्रमित थपिएसँगै पाँचथरमा सङ्क्रमितको कूल संख्याले तीन हजार नाघेको छ ।
जिल्ला प्रशासन कार्यालयको दैनिक प्रतिवेदनअनुसार पाँचथरमा कोभिड–१९ का कूल सङ्क्रमितको संख्या ३००५ जना पुगेको हो । जसमध्ये हालसम्म कूल २ हजार ४३८ जना सङ्क्रमणमुक्त भएका छन् ।
पाँचथरमा उपचार गराउने सङ्क्रमितको संख्या समेत क्रमशः बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयको प्रतिवेदनअनुसार हाल कोभिड अस्पतालको एचडीयूमा १६ जना तथा आइसोलेसनमा ४ जना सङ्क्रमितहरुको उपचार भइरहेको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने जिल्लावासीको यकिन संख्या उपलब्ध भएको छैन् भने जिल्ला भित्रै १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरमा कोभिड अस्पतालको एचडीयूमा २८ बेड रहेका छन् भने जिल्लामा हाल कूल १५९ वटा अक्सिजन सिलिण्डर रहेका छन् ।
पाँचथरमा क्रमशः सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको छ । पाँचथरमा ३००५ जनामा सङ्क्रमण हुँदा २४३८ जना सङ्क्रमणमुक्त भएका छन् । ३००५ जना सङ्क्रमितमध्ये जिल्ला भित्रै र जिल्ला बाहिर गरी करीब ४५ जनाको हालसम्म मृत्यु भएको छ । यस आधारमा अहिले जिल्लामा करीब ५२० जना सक्रिय सङ्क्रमित छन् ।