मंगलबार पाँचथरमा थपिए ६८ जना सङ्क्रमित



फिदिम, १२ साउन

पछिल्लो २४ घण्टामा पाँचथरमा ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार पछिल्लो २४ घण्टामा १४७ जनाको एण्टिजेन परीक्षण गरिएको हो । जसमा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्क हिँजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्मको हो ।

यो सङ्ख्या थप भएसँगै पाँचथरमा कोभिड–१९ का सङ्क्रमितको कूल सङ्ख्या २ हजार ९५० पुगेको छ । जसमध्ये २ हजार ४२६ जना सङ्क्रमणमुक्त भएको प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा थप एक जना पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको छ । उनी जिल्लाको याङवरक गाउँपालिकाका हुन् ।

यस्तै अस्थायी कोभिड अस्पतालको एचडीयूमा १४ जना तथा आइसोलेसनमा छ जनाको उपचार भइरहेको छ । देशभरी सङ्क्रमितको संख्यामा वृद्धि भएसँगै पाँचथरमा पनि उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्