
फिदिम, ८ साउन
बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेंडाले उचित मूल्य पाउन सकेको छैन् ।
गत वर्ष यहि समय प्रतिकिलो रु. २० मा विक्री भएको गोलभेंडा यसपाली प्रतिकिलो रु. १० देखि १२ मा विक्री भइरहेको छ । गोलभेंडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकहरुले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् । कोभिड–१९ सङ्क्रमणको महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेंडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेंडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि कृषकहरु मर्कामा परेका हुन् ।
“पोहोर साल प्रतिकिलो २० रुपैयाँभन्दा कम मूल्यमा बेच्नु परेको थिएन”, याङवरक गाउँपालिका–६ का गोलभेंडा उत्पादक कृषक रामकुमार गुरागाईंले भन्नुभयो, “यसपाली त १०÷१२ रुपैयाँमा बेच्न पनि कठिन प¥यो ।” बन्दाबन्दीका कारण गोलभेंडाको विक्रीमा ब्यापारीहरुवीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक गुरागाईंको भनाई छ ।
“हामी कृषकहरु आफैँले बजार पु¥याएर विक्री गर्न सक्ने अवस्था पनि छैन्”, गुरागाँईले भन्नुभयो, “निषेधाज्ञाका कारण समयमा ब्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।” २५ रोपनी खेतमा बर्खे गोलभेंडा लगाउनुभएका गुरागाईंले कम्तिमा रु. एक लाख आम्दानी गर्ने सोच बनाउनुभएको थियो । “अघिल्ला वर्षहरुमा एक लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ”, उहाँले भन्नुभयो, “यसपाली त सावाँ नै उठेन ।”

कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरुको उत्पादनले मूल्य नपाउँदा समस्या परेको कृषक रिता खड्काको भनाई छ । “पहिले किन्नुपर्ने सामानको मूल्य सस्तो थियो । तर यसपाली बढेकै बेला हाम्रो उत्पादनले मूल्य पाएन”, खड्काले भन्नुभयो, “पानी धेरै पर्नाले टमाटर कुहिएर जाने समस्या पनि देखियो ।” गोलभेंडा पाकेर झर्न लागेपछि टिपेर राखेपनि समयमा ब्यापारी नआउँदा त्यसै खेर फाल्नु परेको उहाँको गुनासो छ ।
पाँच रोपनी खेतमा लगाइएको गोलभेंडाबाट कम्तिमा रु. ५० हजार आम्दानी गर्ने लक्ष्य बनाउनुभएका याङवरक–६ कात्तिकेका पुष्पलाल पुरी रु. १२ हजार पनि आम्दानी नहुँदा निराश हुनुहुन्छ । “विक्री गरिसक्न लागेँ । तर यसपाली टमाटरसँग धेरै आश छैन्”, पुरीले भन्नुभयो, “यसपाली प्रकृतिले नै धोका दियो ।”
हिलिहाङ–१ का सहकारीकर्मी केशव भण्डारी यस वर्ष गोलभेंडाले उचित मूल्य पाउन नसकेको वताउनुहुन्छ । “१०÷१२ रुपैयाँमा विक्री भइरहेको छ”, भण्डारीले भन्नुभयो, “यसले कृषकलाई मारमा पा¥यो ।” याङवरक–६ का वडा सदस्य यामकुमार काम्बाङ गोलभेंडाले उचित मूल्य नपाउँदा सयौँ परिवार कृषकहरु मारमा परेको वताउनुहुन्छ । “हामीकहाँ गोलभेंडाको खेती नगर्ने परिवार नै छैनन्”, काम्बाङले भन्नुभयो, “मूल्य निकै कम हुँदा सबैजना मारमा पर्नुभएको छ ।”
कृषि प्राविधिक, कृषक एवम् गोलभेंडाका स्थानीय ब्यापारी समेत रहनुभएका याङवरक–६ का वीरेन्द्र काफ्ले गोलभेंडाले उचित मूल्य पाउन नसक्नुका धेरै कारणहरु रहेको वताउनुहुन्छ । एकै बोटमा धेरै गोलभेंडा फल्नाले गुणस्तर नहुने, गोलभेंडाको आकारले समेत मूल्यमा फरक पार्ने तथा विषादीको अनियन्त्रित प्रयोगले गुणस्तरमा ह्रास आई उचित मूल्य प्राप्त नभएको काफ्ले भनाई छ ।

“एउटा बोटमा कति टमाटर फलाउँदासम्म गुणस्तरीय हुन्छ भन्नेदेखि कुन आकारमा फलाउनेसम्मका कुरा टमाटरमा जोडिन्छन्”, काफ्लेले भन्नुभयो, “मुख्य बजारमा नेपालीभन्दा भारतीय टमाटरको खपत बढी हुनाले समेत हाम्रो टमाटरको मूल्य कम हुन गएको हो ।” धेरै फलाउने प्रतिस्पर्धामा कृषकहरुले प्राविधिक सल्लाहविना विषादीको प्रयोग गर्नाले वर्षेनि गोलभेंडाको मूल्यमा ह्रास आइरहेको र उपभोक्ताहरुले नरुचाएको काफ्लेको भनाई छ । यहाँ उत्पादित गोलभेंडाको मुख्य बजार तराईका जिल्लाहरु र भारत हो । ढुवानी खर्च, कुहिने तथा विग्रने गोलभेंडा छुट्ट्याउनु पर्नाले कृषकले प्राप्त गर्ने मूल्य र बजार मूल्यमा न्यूनतम प्रतिकिलो रु. १० अन्तर आउने गरेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं. १, २, ३ र ४ तथा याङवरक गाउँपालिकाको वडा नं. ५ र ६ मा गोलभेंडाको अत्यधिक खेती हुने गरेको छ । यहाँका अधिकांश कृषकहरुले गोलभेंडा खेतीबाट प्रशस्तै आम्दानी गर्दै आएका थिए । यस वर्ष मूल्यमा आएको ह्रासले कृषकहरु मारमा परेका छन् । हिलिहाङ र याङवरकका गरी करीब १ हजार ५०० परिवार कृषकहरुले गोलभेंडा खेती गर्दै आएका छन् ।