
फिदिम, ७ साउन ।
पछिल्लो समय जिल्लाको हिलिहाङ गाउँपालिकामा ठूलो संख्यामा कोरोनाभाइरसका सङ्क्रमित देखिन थालेका छन् ।
विहीवार मात्रै हिलिहाङमा १६ जना सङ्क्रमित थपिएका छन् । हिलिहाङ–३ गोपेटार बजार र हिलिहाङ–५ र ६ को सीमावर्ती जोरपोखरी बजारमा ४१ जनामा गरिएको एण्टिजेन परीक्षणमा १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
विहीवार १७ जना महिला र २४ जना पुरुष गरी ४१ जनामा गरिएको एण्टिजेन परीक्षणमा ७ जना महिला र ९ जना पुरुषका सङ्क्रमण पुष्टि भएको हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाको प्रमुख चन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विगतबाटै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिँदै आएको हिलिहाङमा हालसम्म ३०१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २५१ जना निको भएको हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
आजसम्म हिलिहाङमा कूल ९०० वटा एण्टिजेन परीक्षण भएका छन् । जसमा ३०१ जनामा सङ्क्रमण देखिएको हो । हिलिहाङमा कूल सङ्क्रमणदर ३३.४४ प्रतिशत रहेको छ ।