याङवरकमा ३७ जनाको एण्टिजेन परीक्षणमा २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि



फिदिम, ७ साउन ।

याङवरक गाउँपालिकामा ३७ जनामा गरिएको एण्टिजेन परीक्षणमा २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार विहीवार गाउँपालिकाका १, २, ४, ५ र ६ मा गरी कूल ३७ जनाको एण्टिजेन परीक्षण गरिएको हो । परीक्षणमा १० जना महिला र १५ जना पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको गाउँपालिकाको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

आज याङवरकमा सबैभन्दा बढी वडा नं. २ फलैंचामा २९ जनामा गरिएको एण्टिजेन परीक्षणमा २२ जनामा सङ्क्रमण पुष्टि भएको दैनिक प्रतिवेदनमा उल्लेख छ । बाँकी तीन जना वडा नं. ४ थर्पू, मेदिबुङका छन् ।

याङवरक गाउँपालिकाले हालसम्म कूल ९३८ वटा एण्टिजेन परीक्षण गरेको छ । जसबाट हालसम्म कूल ३९८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु मध्ये महिला १३९ जना तथा १८ वर्ष मुनिका बालबालिकाको संख्या ५६ रहेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सङ्क्रमितहरु मध्ये हालसम्म कूल ३४० जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको संख्या ५८ छ । उनीहरु सबै होम आइसोलेसनमा रहेको याङवरक गाउँपालिकाको दैनिक प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्