पहिरोले किच्दा तमोर कोरिडोरमा काम गरिरहेका एक कामदारको मृत्यु



फिदिम, ७ साउन

पहिरोले किचेर कोरिडोर सडकमा काम गरिरहेका एक जना कामदारको ज्यान गएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–५ तोकरुम्बाको बडहरेमा तमोर कोरिडोर सडकको मेसिनरी पर्खाल लगाइरहेको अवस्थामा सडकभन्दा माथिबाट पहिरो झरेर पुर्दा एक कामदारको घटनास्थलमै ज्यान गएको हो । पर्खाल निर्माण गरिरहेको अवस्थामा आज दिउँसो करीब ३ बजे पहिरो झरेर थिच्दा पर्खाल निर्माणमा कामदारका रुपमा काम गर्दै आएका तेह्रथुमको आठराई गाउँपालिका–५ अर्चलेका २७ वर्षीय टीका तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय अमरपुरका प्रहरी नायव निरीक्षक अर्जुन गुरुङका अनुसार ८–१० जना कामदारहरुले पर्खाल लगाइरहेको अवस्थामा अचानक सडक माथि रहेको ढिस्कनु झरेर पुर्दा तामाङको घटनास्थलमै ज्यान गएको हो । “ढुङ्गा माटोले छोप्दा तत्कालै ज्यान गएछ”, गुरुङले भन्नुभयो । स्थानीयवासी वीरेन्द्र मङ्ग्रातीका अनुसार सडक निर्माणका क्रममा भीरालो पाखामा ठूलो मात्रामा कटान गरिएकाले ढिस्कनु निर्माण भई बर्खामा परेको पानीका कारण झर्ने अवस्थामा पुगेको थियो ।

ढिस्कनुकै मुनिबाट सडकको भित्तामा मेसिनरी पर्खाल निर्माण भइरहेकाले कामदार असुरक्षित भएको भन्दै स्थानीयवासीले सडक निर्माण रोक्न निर्माण ब्यवसायी आग्रह गर्दै आएका थिए । तर निर्माण ब्यवसायीले आफूहरुको आग्रह अस्वीकार गर्दा कामदारको अनाहकमा ज्यान गएको मङ्ग्रातीको भनाई छ । मृतकको शवलाई शव परीक्षणका लागि फिदिम ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्