घटेन सङ्क्रमण दरः ३५ जनाको एण्टिजेन परीक्षणमा २१ जनामा कोरोना पुष्टि



फिदिम, ६ साउन

पाँचथरको कोरोनाभाइरस सङ्क्रमण दर अझै घट्न सकेको छैन् ।

वैशाक पहिलो साताबाट सुरु सङ्क्रमणको क्रम अझै रोकिएको छैन भने सङ्क्रमण दर समेत चिन्ताजनक रुपमा देखा परिरहेको छ । पाँचथरमा बुधवार मात्रै फिदिम सहित जिल्लाका विभिन्न स्थानमा ३५ जनाको एण्टिजेन परीक्षण गरिएको थियो । जसमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पाँचथरको कोभिड–१९ दैनिक प्रतिवेदनमा उल्लेख छ ।

लामो निषेधाज्ञा र निरन्तरको परीक्षणका बावजुत पनि सङ्क्रमण घट्न नसकेको हो । प्रायजसो कन्ट्र्याक ट्रेसिङमा परेका तथा कोभिड–१९ सँग मिल्ने लक्षण भएकाहरुका गरिने परीक्षणमा उल्लेख्य मात्रामा सङ्क्रमित भेटिनुले सङ्क्रमणको जालो तोड्न कठिन पर्ने देखिएको छ ।

पाँचथरमा बुधवारसम्म कूल २ हजार ६ सय ६३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई हजार ३ सय २१ जना निको भइसकेका छन् । कोरोनाभाइरस सङ्क्रमणका कारण जिल्लाका ४३ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

हाल अस्थायी कोभिड अस्पतालको एचडीयूमा नौ जना उपचाररत छन् । यस्तै हालसम्म कूल २९ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्