
फिदिम, ४ साउन ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले न्यूनतम समर्थन मूल्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपज खरिद गरिदिने भएको छ ।
यसका लागि गाउँपालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै कृषि उपज खरिदका लागि निश्चित मापदण्ड समेत तयार पारेको छ । उत्पादित कृषि उपजहरु विक्री नहुने तथा न्यूनतम मूल्य समेत नपाउने अवस्थाको अन्त्यका लागि उक्त गाउँपालिकाले यस्तो नीति लिएको हो ।
मिक्लाजुङले ग्रेडिङ गरिएको ठूलो आकारको बर्षे आलुको न्यूनतम मूल्य प्रतिकिलो रु. ४५ निर्धारण गरेको छ भने सोही प्रकारको हिउँदे आलुको न्यूनतम मूल्य प्रतिकिलो रु. ४० तोकिएको छ । यस्तै ग्रेडिङ गरिएको सानो आकारको बर्षे आलूको न्यूनतम मूल्य प्रतिकिलो रु. ४० तथा सोही प्रकारको हिउँदे आलुको मूल्य प्रतिकिलो रु. ३५ निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।
यस्तै ग्रेडिङ गरिएको ठूलो आकारको प्याजको न्यूनतम मूल्य प्रतिकिलो रु. ५० तथा सानो आकारको प्याजको न्यूनतम मूल्य प्रतिकिलो रु. ४५ निर्धारण गरिएको छ । यसैगरी सुकेको स्थानीय प्रजातिको लसुनको न्यूनतम मूल्य प्रतिकिलो रु. ११० र सुकेको चाइनिज लसुनको मूल्य रु. ९० तोकिएको हो ।
यी कृषि उपज गाउँपालिकाले खरिद गर्नका लागि कम्पोष्टमल, गोठमल र वानस्पतिक विषादीबाट उत्पादन गरिएको हुनुपर्ने तथा कृषकहरुले उत्पादन अगावै गाउँपालिकाका कृषि प्राविधिकहरुलाई मलको प्रयोग तथा बाली लगाइएको क्षेत्रको अनुगमन गराउनुपर्ने पर्ने नीतिगत प्रवन्ध गरिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीको भनाई छ । यस्तै हिउँदे आलुको खेती गर्न चाहने कृषकहरुलाई गाउँपालिकाले ५० प्रतिशत रकम ऋण दिने ब्यवस्था गरेको छ ।
ऋण लिनका लागि कृषकहरुले कम्तिमा दुई रोपनी जमिनमा प्राङ्गारिक उत्पादन गर्नुपर्ने गाउँपालिकाले प्रावधान बनाएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपजले राम्रो मूल्य नपाउने तथा बजारमा पु¥याउन कठिन पर्ने समस्याको निराकरणका लागि गाउँपालिकाले कृषि उपज आफैँले खरिद गर्ने नीति लिएको हो । यसले आलु, लसुन, प्याज लगायत वस्तुको उत्पादनमा कृषकहरुलाई हौसला मिल्ने र यस प्रकारका कृषि उपजको आयात रोकिने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले वताउनुभयो ।
कृषि उपज उत्पादन वृद्धि गर्न गत वर्षबाट यो गाउँपालिकाले धेरै खाद्यान्न उत्पादन गर्ने कृषकलाई नगद पुरस्कार दिन थालेको छ । गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने तथा चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई रु. एक लाख पुरस्कार दिन थालेको छ । उक्त पुरस्कार गाउँपालिकाका १२० बढी कृषकले पाइसकेका छन् । यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु. २० का दरले पुरस्कार दिने निर्णय समेत गाउँपालिकाले गरिसकेको थियो ।
‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्यउपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार कृषकहरुलाई पुरस्कृत गर्न थालिएपछि कृषि उपज उत्पादनमा वृद्धि भएको थियो । कृषि उपजको उत्पादन वृद्धि भएपछि बजार नपाउने तथा कृषि उपज खेर जाने समस्या निराकरणका लागि गाउँपालिकाले आलु, प्याज र लसुनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै खरिद गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष उर्मिला राईले वताउनुभयो ।