कोरोना सङ्क्रमणबाट पाँचथरमा हालसम्म ४३ जनाको मृत्यु



फिदिम, ४ साउन ।

कोरोनाभाइरस सङ्क्रमणका कारण पाँचथरमा हालसम्म ४३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार जिल्लामा वैशाक १८ गतेबाट नयाँ भेरिअन्टको कोरोनाभाइरसको नियमित परीक्षण तथा सङ्क्रमितको उपचार भइरहेको छ । यस क्रममा असार मसान्तसम्ममा कोरोनाभाइरस सङ्क्रमणका कारण ४३ जनाको मृत्यु भएको हो । जिल्ला भित्रै सङ्क्रमणको परीक्षण गराई जिल्लामै उपचारका क्रममा १२ जनाको मृत्यु भएको छ भने ३१ जनाको जिल्ला बाहिर उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त कार्यालयका अनुसार अनुसार जिल्लामा गत वैशाक १८ गतेदेखि गत शुक्रवारसम्म छ हजार ८९७ वटा एण्टिजेन र एक हजार ११० वटा पीसीआर गरी कूल आठ हजार सात वटा परीक्षण गरिएको छ । जसमा कूल दुई हजार ५१४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६.४५ प्रतिशतमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । यस्तै कूल सङ्क्रमितमध्ये १.७१ प्रतिशतको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै पाँचथर अस्पतालमा रहेको अस्थायी कोभिड अस्पतालको हाई डिफेन्डेन्सी युनिट (एचडीयू)मा हालसम्म १६९ जना भर्ना भएका छन् । जसमध्ये १४१ जना निको भई घर फर्केका छन् भने १० जनाको उपचारका क्रममा एचडीयूमै मृत्यु भएको छ । आठ जना उपचारका क्रममा छन् भने बाँकीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्