पाँचथरमा दशौं पटक थपियो निषेधाज्ञा



फिदिम, ३ साउन ।

पाँचथरमा दशौँ पटक निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकको निर्णयबमोजिम आज प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भोली मध्यरात १२ बजेबाट लागू हुने गरी दशौं पटक निषेधाज्ञा थप गर्नुभएको हो । निषेधाज्ञा थप गरी आउँदो साउन ११ गते मध्यरातसम्म पु¥याइएको छ ।

निषेधाज्ञा भएपनि सरकारी तथा सार्वजनिक निकायका सेवा सुचारु गर्ने, घर–पसलमा पुगेर रकम सङ्कलन गर्ने कार्य बाहेक बैङ्क तथा वित्तीय संस्थाका सेवा समेत सुचारु हुने प्रशासनले आदेश दिएको छ । पसल तथा ब्यवसाय अहिले जस्तै दिउँसो १ बजेसम्म सञ्चालनमा आउन सक्नेछन् ।

सैलुन, ब्यूटीपार्लर, सिनेमा हल, पार्क, मनोरञ्जन स्थल, सपिङ मल, पार्टी प्यालेस, जिमखाना, पुस्तकालय, सङ्ग्रहालय, खेलकुदका क्षेत्र भने अझै बन्द रहनेछन् । सबै सवारीका साधन जोरविजोर प्रणालीमा सञ्चालन हुने भएका छन् भने लामो दूरीका सवारीका साधन स्थानीय प्रशासनको अनुमतिले नियमित सञ्चालन हुन सक्नेछन् ।

उद्योग धन्दा, कल कारखाना, निर्माण क्षेत्र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन आउन सक्ने भएका छन् भने विवाहका लागि १० जनासम्म जन्ती जान सक्ने, ब्यानर राखेर गएको अवस्थामा अनुमति वा पास आवश्यक नपर्ने आदेशमा उल्लेख छ । सभा सम्मेलन गर्न भने अझै रोक लगाइएको छ ।

तर औपचारिकतामा सिमित

स्थानीय प्रशासनले खुकुलो भएपनि निषेधाज्ञा जारी राखेको छ । तर निषेधाज्ञा औपचारिकतामा सिमित बनेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाभाइरस सङ्क्रमण कम भएकोझैँ गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा लापरवाही हुन थालेको छ ।

निषेधाज्ञामा सवारीको प्रयोग कम गर्ने, भीडभाड नगर्ने, खेलकुदका गतिविधि नगर्ने जस्ता आग्रहहरु स्थानीय प्रशासनले गरिरहेको भएपनि यसको अधिकांश स्थानमा अवज्ञा भइरहेको छ । परिणामतः निषेधाज्ञा जारी भएको ७० दिन पुग्न लाग्दा समेत सङ्क्रमणको दर घट्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्