‘निषेधाज्ञा मात्रै खुकुलिएको, कोरोना सङ्क्रमण घटेको छैन्’



फिदिम, ३ साउन ।

कोरोनाभाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौ पटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएपनि कोरोनाभाइरस सङ्क्रमणको दर भने घट्न सकेको छैन् । यत्ति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुन सकेको छैन् भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ ।

लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्क्रमण घट्न नसकेका प्रति यहाँका सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । ६८ दिनदेखि निषेधाज्ञा जारी गरिएको भएपनि यस वीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो । बाँकी अवधिमा भने मानवीय गतिविधि, सवारीका साधन सञ्चालनमा कडाई हुन सकेन । फलतः पाँचथरमा कोरोनाभाइरसको सङ्क्रमण दर कम हुन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्याङ्कअनुसार शुक्रवार ८७ जनाको एण्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखियो । विहीवार २६ जनाको एण्टिजेन परीक्षणमा १४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै बुधवार ४९ जनाको एण्टिजेन परीक्षणमा २६ जना, मङ्गलबार ७५ जनाको एण्टिजेन परीक्षण गर्दा ३१ जना, सोमवार ४५ जनाको एण्टिजेन परीक्षण गर्दा २१ जना, आइतवार ४१ जनाको एण्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसरी समग्रमा यस हप्ता ३२३ जनाको एण्टिजेन परीक्षण गर्दा १२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कलाई आधार मान्दा अहिले पाँचथर जिल्लामा कोरोनाभाइरस सङ्क्रमणको दर ३९.६२ प्रतिशत देखिन्छ । समग्र मुलुकभरिमा सङ्क्रमण दर ३० प्रतिशतभन्दा कममा खुम्चिएको अवस्थामा पाँचथरमा सङ्क्रमण दर ४० प्रतिशतको हाराहारीबाट घट्न नसकेको हो ।

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरमा गत वैशाक १८ गतेदेखि गत शुक्रवारसम्म छ हजार ८९७ वटा एण्टिजेन र एक हजार ११० वटा पीसीआर गरी कूल आठ हजार सात वटा परीक्षण गरिएको छ । जसमा कूल दुई हजार ५१४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६.४५ प्रतिशतमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । यस्तै कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म जिल्लामा ४३ जनाको मृत्यु भएको छ ।

जिल्लामा सङ्क्रमणको अवस्था चुनौतिपूर्ण रहेपनि समुदायस्तरबाट सजगताको अवस्था निकै कमजोर छ । यहाँ पछिल्लो दुई सातादेखि निषेधाज्ञा नाम मात्रैको छ । मानवीय चहल–पहल, सवारी आवागमन, भीडभाड हुने क्षेत्र प्रायः खुल्ला छ । निषेधाज्ञामा विहान ५ बजेदेखि मध्यान्ह १ बजेसम्म भीडभाड हुने स्थान बाहेक अन्य सेवा सञ्चालन गर्ने भनिएपनि त्यसको पालना हुन सकेको छैन् । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि सङ्क्रमणको दर नघटेकातर्फ सर्वसाधारणको ध्यान पुग्न नसक्दा सङ्क्रमण झनै फैलने खतरा देखिएको हो ।

निषेधाज्ञा खुकुलो हुनेवित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छोड्ने तथा सङ्क्रमण हटेको बुझ्ने प्रवृत्तिले समस्या बढाउँदै लगेको हो । लापरवाहीको परिणाम ब्यवहारमा देखिन थालिसकेको छ । तमोर तटीय क्षेत्रमा पर्ने जिल्लाको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाको तीनघरे र निगाले टोलमा विहीवार र शुक्रवार मात्रै ४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अन्यत्रजस्तै यहाँ पनि टोलका अधिकांश घरमा सङ्क्रमितहरु फेला पर्न थालेका हुन् । जिल्लाको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा गएका चार दिनमा ३० जनामा तथा हिलिहाङ–६ भारपामा शनिवार मात्रै छ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

“सङ्क्रमणको अवस्थालाई नियन्त्रण गर्न जिल्लावासीको सबैभन्दा ठूलो भूमिका छ”, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भन्नुभयो, “सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरिदिए मात्रै सहज हुन्छ ।” उपचारात्मक ब्यवस्थालाई सम्वद्र्धन गर्न सरकारी तथा गैरसरकारी निकायले भरमग्दूर प्रयत्न गर्दै आएको वताउँदै प्रजिअ ढकालले नागरिकस्तरबाट समेत महामारी नियन्त्रणको अभियानमा उत्तिकै सहयोग हुनुपर्ने वताउनुभयो । निषेधज्ञा खुकुलो भएपनि सङ्क्रमण भने नघटेको कुरा सबैले बुझ्नुपर्ने उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नादरमुनी सुवेदी क्वारेन्टिन र आइसोलेसनको उपयुक्त प्रवन्ध नहुँदा सङ्क्रमण नियन्त्रण चुनौतिपूर्ण भएको वताउनुहुन्छ । “सङ्क्रमितहरुलाई होम आइसोलेसनमा राख्ने ब्यवस्था प्रभावकारी नहुँदा सङ्क्रमण फैलन मद्दत गरेको पाइन्छ”, शुक्रवार आयोजित एक अन्तरक्रियामा सुवेदीले भन्नुभयो, “कोभिड–१९ को पहिलो लहरमा जस्तै क्वारेन्टिनको प्रवन्ध गर्न सकिएको भए गाउँ–गाउँमा सङ्क्रमण फैलने थिएन ।” आर्थिक वर्षको समाप्तिमा बढेको मानवीय गतिविधिले सङ्क्रमणको फैलावटमा झनै वृद्धि गर्ने सरोकारवालाको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्