
फिदिम । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।
“हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौँ”,, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, “यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।” यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।
त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । “हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन”, चौधरीले भने, “संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।” अर्की सांसद् रामकुमारी झाँक्रीले देउवालाई विश्वासको मत दिनु आफूहरुको दायित्व रहेको वताएकी छन् ।
यसअघि एमालेले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।