उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ लेः प्रदीप ज्ञवाली



फिदिम । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश)ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन(तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे । “तीन–तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ”, उनले भने “इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।”

उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए । ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे । “आज एमालेलाई अप्ठ्यारो होला”, उनले भने, “एकछिनलाई जित–हार होला । हामी त्यसमा पनि चिन्तित छैनौं । तर, दलीय प्रणाली कमजोर भयो भने हामी कसैलाई फाइदा हुँदैन ।”

संविधानको अनौठो व्याख्या भएको भन्दै ज्ञवालीले भने, “संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ ।”

प्रतिक्रिया दिनुहोस्