महामारीसँग जुध्न बजेटलाई जिल्ला अस्पताल केन्द्रीत गर्नुपर्छः मन्त्री राई



फिदिम, १ साउन ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुध्न बजेटलाई जिल्लामा केन्द्रीत गर्नुपर्ने आवश्यकता रहेको वताउनुभएको छ ।

बजेट विकेन्द्रीत हुँदा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकिएको वताउँदै मन्त्री राईले एक पटक जिल्लाका लागि प्राप्त हुने बजेट जिल्ला अस्पतालमा केन्द्रीकृत गर्नुपर्नेमा जोड दिनुभएको हो । आज पाँचथर जिल्ला अस्पतालको स्थलगत निरीक्षणपछि बोल्दै मन्त्री राईले सबै जिल्ला अस्पतालहरुमा उपकरण र जनशक्ति सहितको भेण्टिलेटर र सघन उपचार कक्षको ब्यवस्था गर्न सके कोभिड–१९ सङ्क्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता हट्ने र गम्भीर विरामीहरुले समयमै उपचार पाउने वताउनुभयो ।

“केन्द्रले बजेट पठाइरहेको छ, प्रदेशले पठाइरहेको छ । बजेट चारतिर छरिएको छ । तर मुख्य आवश्यकतामा धेरै ध्यान गएको छैन्”, मन्त्री राईले भन्नुभयो, “सदरमुकाममा रहेका जिल्ला अस्पतालहरुमा सुब्यवस्थित र पूर्वाधारयुक्त बनाउन सके महामारीसँग जुध्न धेरै सहज हुन्छ भन्ने पाठ कोभिड–१९ को दोश्रो लहरले सिकाएको छ ।” कोभिड–१९ सङ्क्रमणको महामारीको चुनौतिलाई अवसरमा बदल्नुपर्ने आवश्यकता रहेको वताउँदै मन्त्री राईले यसका लागि जिल्ला अस्पतालहरुको सुदृढिकरणमा जुट्न सम्वद्ध सरोकारवाला पक्षहरुलाई आह्वान गर्नुभयो ।

जिल्ला अस्पतालहरुलाई सवल बनाउनकै लागि दरबन्दी बाहेकका दुई÷दुई जना चिकित्सक र छ÷छ जना अन्य स्वास्थ्यकर्मी प्रत्येक जिल्लामा पठाउने प्रदेश सरकारले तयारी गरेको उहाँले जानकारी दिनुभयो । चिकित्सकहरुले तलब कम हुँदा सरकारी अस्पतालमा जान नमानेको अवस्थामा प्रदेश सरकारले हिमाली जिल्लामा ३०० प्रतिशत, पहाडी जिल्लामा २५० प्रतिशत र तराईका जिल्लामा २०० प्रतिशत प्रोत्साहन भत्ता गर्ने निर्णय गरेको मन्त्री राईले जानकारी दिनुभयो । “यसले चिकित्सक अभाव हुने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

आवश्यकताका आधारमा पाँचथर जिल्ला अस्पतालको सुधार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरी १०० शैय्यामा विस्तार गर्न लागिएको जानकारी दिँदै मन्त्री राईले नागरिकको स्वास्थ्यभन्दा अलग विषय सरकारको प्रमुख प्राथमिकतामा पर्न नसक्ने वताउनुभयो । उहाँले पाँचथरमा भेण्टिलेटर, सघन उपचार कक्ष (आइसीयू) लगायत उपकरण र पूर्वाधार भएपनि जनशक्तिको अभावले ती सामग्री महामारीमा उपयोग हुन नसक्नु दुःखद् पक्ष रहेको वताउँदै आगामी दिन यस्तो समस्या हल गरिने वताउनुभयो । प्रदेश सरकारले चाहेर पनि खोप उपलब्ध गराउन नसक्ने अवस्था रहेकाले संघीय सरकारलाई पटक–पटक घच्घच्याउने काम गरेको मन्त्री राईको भनाई छ ।

फिदिममा आयोजित अन्तरक्रियामा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले सेवा क्षेत्रका दृष्टिले पाँचथर अस्पतालको स्तरोन्नति अत्यावाश्यक रहेको वताउनुभयो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा अस्पताललाई १०० शैय्यामा विस्तार गर्ने घोषणा गरेसँगै त्यसको पूर्वतयारीका लागि समेत सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रदेश सरकारले नीति, कार्यक्रम तथा बजेटमार्फत जिल्ला अस्पतालको स्तरोन्नति गर्ने कार्यक्रम ल्याएपछि भविश्यमा शिक्षण अस्पतालका रुपमा पाँचथर अस्पताललाई विकास गर्ने सोच बनाउन थालिएको सापकोटाले वताउनुभयो । उहाँले कोरोनाभाइरस सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी पहलको प्रयास गरिएको वताउनुभयो । “कोभिड–१९ का सङ्क्रमितको उपचारमा उपलब्ध भएसम्मका प्रविधि, पूर्वाधार र जनशक्तिको प्रयोग गरेका छौँ”, सापकोटाले भन्नुभयो ।

प्रदेशसभा सदस्य आशारत्न जवेगूले पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति, कोभिड–१९ का सङ्क्रमितको परीक्षण तथा उपचार, स्वास्थ्य सेवाको सवलीकरणका लागि प्रदेश सरकारले पाँचथरलाई ठूलो मद्दत गर्दै आएको र फिदिमबाट ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले समेत सेवा लिने भएकाले थप बजेटको प्रवन्ध गर्न माग गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले कोभिड–१९ को महामारीमा हालसम्म औषधि, एम्बुलेन्स लगायतको अभाव हुन नदिइएको भन्दै आगामी दिनमा प्रदेश र संघीय सरकारले झनै सहयोग गर्नुपर्ने वताउनुभयो । छिमेकी जिल्लाहरु तेह्रथुम र इलामलाई पैंचोमा २५ थाल अक्सिजन सिलिण्डर उपलब्ध गराउन पाँचथर सक्षम भएको वताउँदै उहाँले पाँचथरमा सबै निकायबाट स्वास्थ्य सामग्रीको सङ्कलनमा भएको प्रयास अनुकरणीय रहेको वताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नारदमुनि सुवेदीले समग्र जिल्लाको स्वास्थ्य अवस्था तथा पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशीले जिल्ला अस्पतालको अवस्थाबारे प्रष्ट्याउनुभएको थियो । मन्त्री राईले जिल्ला अस्पतालमा उपचार सेवाको अवस्था, निर्माणाधीन भवनको अवस्थाबारे निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्