
फिदिम, २९ असार
प्रतिनिधिसभा विघटन बदर गर्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले दिएको परमादेशको विरोध गर्दै पाँचथरमा नेकपा (एमाले)सम्वद्ध युवा तथा विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।
मङ्गलबार राष्ट्रिय युवा संघ पाँचथर र अनेरास्ववियु पाँचथरले फिदिमको गणतन्त्र चोकमा विरोध सभा आयोजना गरी सर्वोच्च अदालतको फैसला जनादेशका विरुद्ध भएको वताएका छन् । उनीहरुले देशब्यापी रुपमा उक्त फैसलाका विरुद्ध आयोजित आन्दोलनलाई निरन्तरता दिइने वताएका छन् ।
फिदिम आयोजित कोण सभालाई राष्ट्रिय युवा संघका अध्यक्ष कमल थपलिया तथा अनेरास्ववियुका अध्यक्ष नारायण सुवेदी सम्वोधन गर्दै सर्वोच्च अदालतको फैसलाले निर्दलीय ब्यवस्था निर्माण गर्न खोजेको आरोप लगाए । उनीहरुले अदालतको फैसलाकै कारण मुलुक गम्भीर राजनीतिक सङ्कटतर्फ जाने खतरा रहेकाले आफूहरु विरोधमा उत्रिएको वताए ।
फैसला नसच्चिएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र तुम्वापोले वताए । विरोध कार्यक्रममा एमालेसम्वद्ध युवा तथा विद्यार्थी संगठनका विभिन्न तहका नेता कार्यकर्ताको सहभागिता थियो ।