सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको छः ओली



फिदिम । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेका फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको बताउनुभएको छ ।

संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्ने भन्दै उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाउनुभएको हो । सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै ‌ओलीले त्यसको समीक्षा भविष्यमा हुने बताउनुभयो ।

“लोकतन्त्रको रक्षा, विकास र सुदृढिकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? राजनीतिक स्थायित्वलाई बल पुर्‍याए कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा राजनीतिलाई अग्रगामी दिशा दिए कि पछाडि फर्काए ? समीक्षा भविष्यले गर्ने नै छ” ओलीले सिंहदरबारबाट राष्ट्रको नाममा गरेको सम्बोधनमा भन्नुभयो, “सर्वोच्चका फैसलाको समयले आफ्नो कसीमा घोटेर यिनको औचित्यबारे अग्निपरिक्षा गर्ने नै छ । संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेको कुरा म जानकारी गराउन चाहन्छु ।”

संविधानको धारा ७६ को उपधारा ५ मा ह्वीप नलाग्ने लगायतबारे सर्वोच्चले गरेका फैसलालाई लिएर उहाँले असन्तुष्टि ब्यक्त गर्नुभएको हो । उहाँले फैसलाका भाषालाई लिएर पनि असन्तुष्टि जनाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्