नेम्वाङलाई पाँच वटै मन्त्रालयबाट विदाई



काठमाण्डौं । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई उहाँले सम्हाल्दै आउनुभएका पाँच वटै मन्त्रालयबाट विदाई गरिएको छ ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट विदाई गरिएको हो । पाँच वटै मन्त्रालयमा औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्रालयका सचिवहरु, सहसचिवहरु, विभिन्न विभाग तथा महाशाखाका प्रमुखहरु लगायतले मन्त्री नेम्वाङको विदाई गर्नुभएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ओलीले मन्त्रिमण्डल पुनर्गठनका क्रममा २०७६ मंसिर ५ नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको थियो । त्यस्तै २०७६ फागुन ८ गतेदेखि २०७७ असोज २९ गतेसम्म नेम्वाङले शहरी विकास मन्त्रीको जिम्मेवारी समेत प्राप्त गर्नुभएको थियो ।

यस्तै २०७८ असार ११ गतेबाट असार २९ गतेसम्म नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र खानेपानी विकास मन्त्रालय समेतको नेतृत्व गर्ने अवसर पाउनुभएको थियो ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेम्वाङ विशेषत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रुपमा रहँदा उहाँको नेतृत्वमा भौतिक पूर्वाधारको विकासमा भएका प्रगति, सुधार र प्रयत्नहरुको ब्यापक चर्चा र प्रसंशा हुने गरेको छ ।

मन्त्री नेम्वाङको सचिवालय स्वकीय सचिव दिनेश खतिवडा सहित गणेश योङहाङ, कल्पना वाइबा र सन्दीप राई रहनुभएको थियो । उहाँहरु सबै पाँचथरवासी र नेकपा (एमाले)का विभिन्न कमिटी तथा एमालेसम्वद्ध संघसंगठनहरुमा क्रियाशील हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्