‘सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोज्यो’



फिदिम । नेकपा एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलाले ‘नेपालको राज्य व्यवस्थाको आधारभूत संरचना खलबल्याउने काम गरेको’ टिप्पणी गरेको छ।

उपलब्ध स्थायी कमिटी सदस्यहरूको बालुवाटारमा बसेको बैठकले यसैलाई साझा दृष्टिकोण बनाएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। “मुलुक शक्ति पृथकीकरणको नियन्त्रण र सन्तुलनमा उभिएको हुन्छ। विधायिका, कार्यपालिका र न्यायपालिको समन्वयले मात्र लोकतन्त्र दिगो हुन्छ”, प्रवक्ता ज्ञवालीले बैठकपछि संवाददाताहरूसँग भने “आजको फैसलाले शक्ति सन्तुलनका पिलरलाई हल्लाइदिने, क्र्याक गर्ने काम गरेको छ।”

सरकार बनाउने संविधानका आफ्नै व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, “संसदमा दलहरूको सामर्थ्यका आधारमा सरकार बनाउने प्रक्रिया हुन्छ र राष्ट्रपतिबाट घोषणा हुन्छ। सरकार बनाउने ठाउँ खोज्न अन्त जानुपर्ने भएको छ। यो कल्पनाभन्दा बाहिरको अभ्यास भयो। अदालतको यो फैसलापछि हामी एकदमै चिन्तित छौं।”

प्रारम्भिक रूपमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उनले बताए। यसले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको टिप्पणी पनि उनले गरे।

प्रतिक्रिया दिनुहोस्