पाँचथरमा खुकुलो निषेधाज्ञा साउन ४ सम्म थप, सवारी साधनमा जोर बिजोर प्रणाली



फिदिम, २८ असार

पाँचथरमा गत वैशाक २७ गतेदेखि जारी निषेधाज्ञालाई पुनः एक साता लम्ब्याई साउन ४ गतेसम्म पुर्‍याइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकको निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले आइतवार निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गर्नुभएको हो । जिल्लामा कोरोनाभाइरस सङ्क्रमणको लहर अझै फैलिइरहेकाले सङ्क्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ढकालद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सरकारी निकाय, बैङ्क तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालन गर्ने, तर घर–घरमा गई रकम सङ्कलन गर्ने कार्यलाई स्थगित गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, स्वीमीङ पुल, सपिङ मल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, सङ्ग्रहालय बाहेकका सबै ब्यवसाय मध्यान्ह १ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

सवारीका साधन समेत अव सञ्चालनमा आउने भएका छन् । उद्यपी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । जोर नम्बर भएका सवारीका साधन जोर गते तथा विजोर नम्बर भएका सवारीका साधन विजोर गते सञ्चालन हुनेछन् । लामो दूरीका सवारीका साधन प्रशासनको अनुमति लिई सञ्चालन गर्न छुट दिइएको छ । अत्यावाश्यक सेवाका सवारी सबै दिन सञ्चालन हुन सक्नेछन् ।

यस्तै प्रशासनको स्वीकृति लिई सार्वजनिक तथा निजी निर्माणका कार्य सञ्चालन गर्ने छुट समेत आदेशमा दिइएको छ । आदेशका अन्य अधिकांश प्रावधानहरु भने यसअघि जारी आदेशकै छन् ।

प्रतिक्रिया दिनुहोस्