मैवाखोला गाउँपालिकाले दियो सुकुम्बासीलाई जग्गा



ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको तथ्यांक संकलनको काम सकेर जग्गा खरिद प्रक्रिया अघि बढाएको छ।

जसअन्र्तगत वडा नम्बर ४ साँघु ताम्राङमा पहिचान भएका दुई परिवारलाई जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लिम्बूले जानकारी दिए। “हामीले चालु आर्थिक वर्षमा सुकुम्बासी घरपरिवार पहिचान तथा जग्गा खरिदका लागि ४० लाख रुपैयाँ विनियोजन गरेका थियौँ” उनले भने, “पहिलो चरणमा वडा नम्बर ४ का दुई परिवारलाई जग्गा खरिद गरी उहाँहरुको नाममा रजिष्ट्रेशन पास गरिसकेका छौं। अन्यको पनि जग्गा खरिदको प्रक्रिया सुरु भएको छ।”

गाउँपालिकाले न्यूनतम दुई रोपनी जग्गा खरिद गरेर पास गर्न सुरु गरेको हो। प्रमुख प्रशासकीय अधिकृत तुम्बापोका अनुसार गाउँपालिकाभर ४० सुकुम्बासी परिवारको पहिचान गरिएको छ।

उनीहरुलाई यसअघि जहाँ बसीरहेका छन् त्यहीँ जग्गा व्यवस्थापन गरिएको गाउँपालिका उपाध्यक्ष कौशिला थक्लुङ लिम्बूले बताइन्। “सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो। तर, उहाँहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले जहाँ बस्दै आउनुभएको छ त्यहीँ जग्गा खरिद गर्दैछौँ”, थक्लुङले भनिन्, “यसै आर्थिक वर्षभित्र गाउँपालिकाभरिका सबै सुकुम्बासीका लागि जग्गा खरिद गरिसक्ने योजनाअनुसार काम भैरहेको छ।”

यस्तै, आगामी आर्थिक वर्ष २०७८/७९ मा ती परिवारलाई घर बनाउनका लागि एक करोड रुपैयाँ विनियोज गरेको छ। चालु आर्थिक वर्षमा जग्गा खरिद प्रक्रिया सम्पन्न गर्ने र आगामी वर्ष सबैलाई घर बनाइदिने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत तुम्बापोले बताए।

यसैबीच सरकारले भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। आयोग ताप्लेजुङका अध्यक्ष लक्ष्मी यक्सोले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचवटासँग सम्झौता गरेर काम अगाडि बढाएको बताए। फुङ्लिङ नगरपालिका, मेरिङ्देन, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकासँग भने सम्झौता गर्न बाँकी छ। (थाहाखवरबाट)

प्रतिक्रिया दिनुहोस्