कोरोना सङ्क्रमणका कारण एकैदिन माङसेबुङका लावती दम्पत्तिको निधन



फिदिम । कोरोनाभाइरस सङ्क्रमणका कारण इलाममा आज एकैदिन एक दम्पत्तिको निधन भएको छ ।

कोरोनाभाइरस सङ्क्रमण भई उपचाररत रेडियो माङसेबुडका स्टेशन मेनेजर सुमन लावतीका बावु र आमाको आज एकैदिन निधन भएको हो । निधन हुनेमा माङसेबुङ गाउँपालिका वडा नं. ५ का लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावती छन् ।

टेकबहादुरको विहीबार विहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको आफन्तजनले जनाएका छन् । लावतीको परिवारका ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ ।

उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पत्तिका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ । (इलामआवाजबाट)

प्रतिक्रिया दिनुहोस्