
फिदिम, २३ असार
पाँचथरमा आज २२ जनामा गरिएको एण्टिजेन परीक्षणमा १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
फिदिम, याङवरक लगायत स्थानीय तहमा गरिएको परीक्षणमा कूल परीक्षण भएकामध्ये ५४ प्रतिशतमा सङ्क्रमण देखिएको हो । करीब दुई महिनादेखि जारी निषेधाज्ञाका बावजुत पनि यत्तिको संख्यामा सङ्क्रमित देखिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनअनुसार जिल्लामा हालसम्म २३४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १९९१ जना निको भएका छन् ।
हाल अस्थायी कोभिड अस्पतालमा १५ जना उपचाररत छन् भने जिल्लामा उपचार सम्भव नभई हालसम्म २८ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।