ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा वृद्धको हत्या



पाँचथर, २३ असार

धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको हत्या भएको खुलेको छ ।

अनुसन्धानका क्रममा हत्यामा सम्लग्न देखिएका फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेपछि घटनाको कारण पत्ता लागेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम–४ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू र श्रेष्ठवीच जग्गाको साँधका विषयमा विवाद चल्दै आएको थियो ।

इङ्वाको हत्या भएको दिन गत जेठ २९ गते दिउँसो समेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झगडा भएको थियो । पल्लोटार घर भएपनि श्रेष्ठको इङ्वासँग साँध जोडिएको खेत रहेको छ ।

सोही दिन साँझ ७ः३० बजे श्रेष्ठ ब्याडमा पानी लगाउन जाँदा मृतक इङ्वाले पानीको कुलो फर्काई ब्याडमा लगाएको भेटेका थिए । यसपछि आवेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धारिलो हतियार बामफोकले अनुहार तथा फलामको पाइपले टाउको प्रहार गरेर हत्या गरी छोडेर हिँडेको पाइएको प्रहरीले जनाएको छ । इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय पक्षघात पीडित श्रीमती मात्रै बस्दै आएका थिए । हत्याको घटना भोलिपल्ट विहान मात्रै सार्वजनिक भएकाले प्रहरीले घटनामा सम्लग्नको पहिचान गर्न सकेको थिएन ।

संघीय प्रहरी इकाई धरानबाट तालिमप्राप्त कुकुर सहितको टोलीले अनुसन्धान गर्दा समेत घटनामा सम्लग्नको पहिचान हुन सकेको थिएन । तर पाँचथर प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गर्ने क्रममा मृतक इङ्वा र श्रेष्ठवीच जग्गाको साँधसीमाका विषयमा बिवाद रहेको पत्ता लगाएको थियो । अनुसन्धानकै क्रममा हत्याको घटनामा श्रेष्ठले लगाएका कपडा, हत्यामा प्रयोग भएको बामफोक र पाइप फेला परेपछि श्रेष्ठले उक्त घटना घटाएको निश्कर्षमा पुगेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

हत्यामा सम्लग्न श्रेष्ठ सडक विभाग अन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डको रुपमा समेत काम गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान तथा कानूनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा प्रयोग भएका सवुत प्रमाणहरु परीक्षणका लागि पठाइएको समेत प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । वृद्धको हत्यामा सम्लग्नको पहिचान नहुँदा स्थानीयवासी तथा मृतकका आफन्तले चिन्ता ब्यक्त गर्दै आएका थिए । मृतक इङ्वा सेवा निवृत्त भारतीय सैनिक हुन् ।

प्रतिक्रिया दिनुहोस्