स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ गाउँपालिका



फिदिम, २० असार

जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ ।

कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाएको छ । गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको तलब एकैसाथ रु. सात हजारका दरले वृद्धि गरेको छ ।

सामुदायिक स्वास्थ्य इकाईहरुमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले हाल मासिक रु. १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी रु. २५ हजार पु¥याएको छ । यस्तै स्वास्थ्य संस्थाहरुमा करारमा कार्यरत कार्यालय सहयोगीहरुको तलब रु. नौ हजार ६०० बाट वृद्धि गरी मासिक रु. १५ हजार पु¥याइएको छ ।

हिलिहाङ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रुपमा वार्षिक रु. २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ । हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रसंशा हुने गरेको छ ।

गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई भने विगतदेखि नै दिँइदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले स्वास्थ्य विमा कार्यक्रमको पहुँच विस्तारका लागि रु. तीन लाख बजेट छुट्ट्याएको छ । स्वास्थ्य विमा कार्यक्रममा सामेल हुन चाहने, तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकावासीका लागि उक्त बजेट छुट्ट्याइएको हो ।

हिलिहाङले आगामी वर्ष आवश्यकताअनुसार वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्न समेत बजेट विनियोजन गरेको छ । सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरुद्ध लड्न गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा रु. ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिनुभयो । यस्तै यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावाश्यक औषधिहरुको निःशुल्क वितरणका लागि समेत बजेटको प्रवन्ध गरेको छ ।

हेर्नुहोस् हिलिहाङ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको पूर्ण पाठः

प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्री बिष्णु प्रसाद सापकोटा ज्यू

गाउँपालिकाका उपाध्यक्ष श्री सुमित्रा उप्रेती सेढाई ज्यू

प्रमुख प्रशासकीय अधिकृत श्री बिक्रम लिम्बु ज्यू

सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु

पत्रकार महानुभाव तथा उपस्थित सम्पूर्ण महानुभावहरु     

तथा रेडियोबाट प्रत्यक्ष रुपमा सूनिरहनु भएका सम्पूर्ण हिलिहाङवासी दाजुभाइ तथा दिदिबहिनीहरु

यस गाउँपालिकाको अध्यक्षको हैसियतले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित विषम परिस्थितिका बीच यस गरिमामय सभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट विवरण प्रस्तुत गर्न उपस्थित भएको छु ।

१. यस अवसरमा म राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र प्राप्ति, अग्रगामी परिवर्तन तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि भएका जनआन्दोलन, जनयुद्ध, आदिवासी जनजाति तथा मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुमा आफनो अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण शहिदहरुमा भावपूर्ण श्रद्वासुमन व्यक्त गर्न चाहन्छु ।

२. विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट जीवन गुमाउनुहुने यस गाउँपालिकाका ४ नं. वडा अध्यक्ष तथा सभा सदस्य श्री श्रीप्रसाद शिगु तथा पत्रकार एकराज भण्डारी, प्राध्यापक राजेन्द्र सुवेदी, शिक्षक राजेन्द्र शिगु, व्यवसायी अमर लिङदेन, पूर्व जनप्रतिनिधि कृष्ण बहादुर योङहाङ प्रति भावपूर्ण श्रद्वाञ्जलि व्यक्त गर्दछु । यस्तै कोरोनाबाट संक्रमित भई बिभिन्न स्वास्थ्य संस्था र होम आइसोलेशनमा उपचाररत सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कोरोना महामारीका विरुद्व अग्रपंक्तिमा रहेर खटिरहनुभएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण नागरिकहरुप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछु ।

३. नेपालको संविधान २०७२ अनुरुप बिस २०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो ऐतिहासिक निर्वाचनबाट स्थानीय जनताहरुको जनमत प्राप्त यस स्थानीय तहले पाँच वर्षको यस अवधिसम्म आइपुग्दा यस भेगका स्थानीय हिलिहाङवासी दाजुभाई तथा दिदिबहिनिहरुको परिवर्तनको चाहना एवम विकास र समृद्विको सपनालाई केही हदसम्म सार्थक बनाउने प्रयास जारी रहयो र रहनेछ । साथै सामाजिक न्याय सहितको बहुआयमिक एवम तीव्र विकासद्वारा समृद्व नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न हिलिहाङ गाउँपालिकाले अख्तियार गरेको आवधिक नीति ‘कृषि, उर्जा, पर्यटन र प्रविधिः हिलिहाङ गाउँपालिकाको समृद्धि’ निर्माणको आधारशिला तयार भएको छ ।

४. नेपालको संविधान २०७२ मा निर्दिष्ट स्थानीय तहका एकल अधिकार तथा साझा अधिकारका सूचीहरुमा तोकिएका जिम्मेवारीहरु कार्यान्वयन गर्न तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखित क्षेत्राधिकार अनुरुपका भूमिकाहरु निर्वाह गर्न स्थानीय तहलाई कानुन बमोजिम प्राप्त हुने अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा कानुनी प्रावधान अनुरुप स्थानीय तहको सम्भाव्य स्रोतहरुको संकलन, उपलब्ध स्रोतको दक्षतापूर्ण बाँडफाँड तथा अधिकतम प्रतिफल दिने खालको उपयोग चुनौतिपूर्ण रहेको छ । यस्तो चुनौतिको सामना गर्न विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तिय अनुशासनको त्रिकोणात्मक संयोजन कायम हुने गरी आर्थिक तथा सामाजिक पूर्वाधार विकासका क्षेत्रमा स्रोत र साधनलाई केन्द्रित गर्नुपर्ने आवश्यकता देखेको छु ।

५. आगामी वर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, पन्ध्रौँ आवधिक योजना, समृद्व नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा, कृषि उर्जा पर्यटन र प्रविधिः हिलिहाङ गाउँपालिकाको समृद्धि भन्ने गाउँपालिकाको दीर्घकालीन सोच सहितको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्य र चुनावी घोषणापत्रलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु । सबै प्रकारका सामाजिक, आर्थिक विभेदको अन्त्य गर्दै यस गाँउपालिकाको विकास, समृद्वि र सामाजिक न्यायलाई थप गतिशील बनाउने र समाजवादको आधार निर्माण गर्ने उधेश्यबाट निर्देशित भएको छु । गाउँसभाको यसै बजेट अधिवेशनमा पेश हुने विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकता उपर हुने छलफलमा मान्य सदस्यहरुबाट प्राप्त सुझाव, बुद्विजीवी, पेशाविद र आमनागरिकबाट प्राप्त सल्लाहहरुलाई समेत यथोचित महत्व दिनेछु ।

उपस्थित महानुभावहरु

अब म यस हिलिहाङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ को स्विकृत बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको समग्र वर्तमान अवस्थाका बारेमा संक्षिप्त रुपमा प्रस्तुत गर्दछु ।

६. चालू आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा

चालु आर्थिक वर्ष २०७७/०७८ को कुल बजेट रु ४९ करोड ८९ लाख ५८ हजार मध्ये पूँजीगत तर्फ रु १५ करोड ३४ लाख ७७ हजार ५ सय ६५ बजेट विनियोजन भएकोमा हालसम्म रु ५ करोड ३३ लाख ४० हजार ४ सय १०अर्थात ३५ प्रतिशत कार्यान्वयन भएको देखिन्छ भने चालू तर्फ सशर्त अनुदान सहित रु ३४ करोड ५५ लाख बजेट विनियोजन भएकोमा रु २० करोड ५९ लाख ३ हजार अर्थात ७० प्रतिशत भुक्तानी भई सकेको देखिन्छ । यसरी चालु आर्थिक वर्षको असार पहिलो हप्तासम्म कुल विनियोजनको चालू र पूँजीगत दुवैलाई मिलाएर समग्रमा हेर्दा कुल बजेटको करिव ५२ प्रतिशत बजेट कार्यान्वयन भएको देखिन्छ । यधपी गाउँपालिकाको अधिकांश योजनाहरु सम्पन्न भईसकेका छन कोरोना महामारी र बाध्यात्मक लामो समयावधिको निषेधाज्ञाका कारण ति सम्पन्न योजनाहरुको अनुगमन तथा भुक्तानी हुन नसकेकाले पूँजीगत खर्च प्रगतिको वास्तविक प्रतिशत चाँडै नै देखिने जानकारी पनि गराउन चाहन्छु ।

(क) आर्थिक क्षेत्र

चालू आर्थिक वर्षमा आर्थिक विकास तर्फका उपक्षेत्रहरु जस्तै कृषि, पशु, लघु घरेलु उधम, पर्यटन, सहकारी जस्ता उत्पादनमूलक क्षेत्रहरुमा रु ५ करोड १२ लाख ११ हजार ६ सय २० बजेट विनियोजन भएकोमा हालसम्म उक्त विषयक्षेत्रगत बजेटको ३०.३९ प्रतिशत अर्थात रु १ करोड ५५ लाख ६८ हजार १ सय २० रुपैया खर्च भएको छ ।

(ख) सामाजिक क्षेत्र

आ व २०७७/०७८ को स्विकृत बार्षिक बजेट कार्यक्रममा समावेश शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा खेलकुद तथा मनोरञ्जन र संष्कृति प्रवर्द्वन जस्ता सामाजिक विकास क्षेत्र तर्फ चालू र पुँजिगत दुवै गरी रु २३ करोड ५२ लाख १ हजार १ सय ९६ रुपैया विनियोजन भएकोमा हालसम्म उक्त बजेटको ५९ प्रतिशत अर्थात रु १३ करोड ७७ लाख ६५ हजार ९ सय ७३ खर्च भएको छ ।

(ग) पूर्वाधार क्षेत्र

आ व २०७७/०७८ को स्विकृत बार्षिक बजेट कार्यक्रममा उच्च प्राथमिकताका साथ समाविष्ट स्थानीय सडक पूर्वाधार, भवन तथा शहरी विकास, सिँचाई लगायत अन्य भौतिक पूर्वाधारजन्य क्षेत्रहरुमा रु १२ करोड ४१ लाख ९ हजार २ सय ९४ विनियोजन भएकोमा वर्तमान अवस्थाको खर्च प्रगति रु ४ करोड ८६ लाख ८९ हजार २ सय ९६ अर्थात जम्मा ४० प्रतिशत प्रगति देखिएको छ ।

(घ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन

आर्थिक वर्ष २०७७/०७८ सालको स्विकृत बार्षिक विकास बजेटमा समाविष्ट सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, सूचना प्रविधि, पञ्जिकरण व्यवस्थापन, स्थानीय तथ्याङक संकलन अभिलेख व्यवस्थापन, अनुषन्धान तथा विकास, सुशासन प्रवर्द्वन र संस्थागत विकासमा टेवा पुग्ने खालका विषयक्षेत्रहरुमा रु २ करोड ६ लाख ४५ हजार बजेट विनियोजन भएकोमा हालसम्म रु ७६ लाख १९ हजार ७ सय अर्थात करिब ३६.९ प्रतिशत कार्यान्वयन प्रगति देखिएको छ ।

(ङ) कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र

चालू आ व २०७८/०७९ मा यस कार्यालय तथा मातहतका कार्यालयहरु सञ्चालन तथा प्रशासनिक क्षेत्रमा अत्यावश्यक खर्चका लागि बजेट रु ६ करोड ७८ लाख ११ हजार विनियोजन भएकोमा हालसम्म रु ४ करोड ९६ लाख १ हजार ६८ अर्थात लगभग ७४ प्रतिशत खर्च प्रगति देखिन आउँछ ।

उपस्थित महानुभावहरु,

अव म आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका उधेष्य तथा प्राथमिकता प्रस्तुत गर्दछु । बजेटका उधेष्यहरु निम्नानुसार रहेका छन्ः

क. कोभिड–१९ को महामारीबाट प्रभावित स्थानीय बासिन्दाहरुको जीवन रक्षा गर्ने,

ख. विकास निर्माणका कार्यक्रमलाई तिव्रता दिदैं अत्यावश्यक स्थानीय सडकहरुको स्तरोन्नति, पर्यटन पूर्वाधार विकास र संस्थागत भवनहरुको निर्माण गर्ने,

ग. आर्थिक तथा सामाजिक पूर्वाधारहरुको विकास गरी स्थानीय तहको समृद्विको आधार तयार गर्ने

प्रस्तुत बजेटका उधेष्यहरु हासिल गर्न देहाय बमोजिमका प्राथमिकताहरु निर्धारण गरेको छु ।

क. कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि परिक्षणको दायरा विस्तार, आवश्यक चिकित्सक एवम स्वास्थ्यकर्मीहरुको प्रवन्ध तथा प्रभावकारी परिचालन, आइसोलेशन वार्ड तथा क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य यन्त्र, उपकरण तथा सामाग्रीको आपूर्ति, निशुल्क औषधी वितरण ।

ख. कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्वि गर्न युवा स्वरोजगार तथा परिचालन ।

ग. गाउँपालिकाको केन्द्र र ऐतिहासिक महत्व बोकेको हिलिहाङ दरबारक्षेत्रलाई राष्ट्रिय तथा प्रादेशिक सडक सञ्जालमा कालोपत्रे मार्फत जोडने कार्यको शुभारम्भ तथा अधुरा स्थानीय सडक आयोजनाहरुको स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न गर्ने ।

घ. गाउँ कार्यपालिकाको मुख्य प्रशासनिक भवन तथा वडा कार्यालयहरुको प्रशासनिक भवन निर्माण कार्यमा जोड दिई चुस्त दुरुस्त र व्यवस्थित सेवा प्रवाहमा प्रभावकारिता ल्याउने ।

ङ. शैक्षिक पूर्वाधार संरचना निर्माणमा जोड दिँदै स्थानीय तहको जिम्मेवारीमा रहेको आधारभूत शिक्षाको सुनिश्चितता प्रदान गर्ने ।

च. ऐतिहासिक, धार्मिक, साँष्कृतिक तथा प्राकृतिक रुपले पर्यटकीय सम्भावना रहेको सम्पदाहरुको प्रवर्द्वन तथा विकासमा जोड दिदै आगामी दिनहरुमा रोजगारी तथा स्वरोजगारीका अवसरहरुको सिर्जना ।

अव म आगामी आर्थिक वर्षको हिलिहाङ गाउँपालिकाको बजेटमा रहेका महत्वपूर्ण नीति तथा कार्यक्रमहरु क्रमश प्रस्तुत गर्न चाहन्छु ।

कोभिड–१९ संक्रमण पहिचान, रोकथाम, उपचार र राहत

७. कोभिड–१९ रोगको पहिचान, नियन्त्रण, रोकथाम उपचार र भविष्यमा आउन सक्ने यस्तै प्रकारका महामारी विरुद्व लडन तथा गाउँपालिकाको स्वास्थ्य प्रणाली र संरचनालाई सुदृढ एवम सक्षम बनाउन प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु । कोभिड१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ८५ लाख विनियोजन गरेको छु ।

८. कोभिड–१९ महामारीका कारण सृजना हुनसक्ने निषेधाज्ञारलकडाउन र संङ्क्रमित वस्ति टोलहरुमा हुनसक्ने आधारभूत खाधान्न अभावका बेलामा स्थानीय जनताहरुलाई आवश्यक पर्ने राहत सामाग्रीहरुको न्यायोचित वितरण गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।

स्वास्थ्य सेवाको विस्तार

९.नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समाविष्ट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्न यस वर्ष नेपाल सरकारले जम्मा ३९७ वटा स्थानीय तहहरुमा ५, १० र १५ शैय्याका आधारभूत अस्पताल भवन निर्माणका लागि कार्यक्रम अघि सारेकोमा यस पालिकाको तत्परता र निरन्तर समन्वयका कारण चालु वर्ष रु ६० लाख र आगामी आ व मा पनि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारलाई सुविधासम्पन्न आधारभूत अस्पताल भवनको रुपमा स्तरोन्नति गर्न नेपाल सरकारबाट रु १ करोड बजेट सुनिश्चित भई सकेको समेत जानकारी गराउन चाहन्छु ।  

१०. गाउँपालिकाको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रमा हाल सञ्चालनमा रहेको १० बेड क्षमताको कोभिड आइसोलेशन वार्ड र जोरपोखरी विधुत सहकारी भवनमा रहेको क्वारेन्टिन क्षेत्रहरुलाई भोलिका दिनमा अझ बढी सुविधासम्पन्न बनाउन सक्ने गरी एकमुष्ट प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिएको छ ।

११. चालु आ व देखि हिलिहाङ गाउँपालिकाको जोरपोखरीमा सञ्चालनमा ल्याईएको नागरिक आरोग्य सेवा केन्द्रको थप प्रभावकारी व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु । कोरोना महामारीको यस विषम परिस्थितिमा हिलिहाङवासी दाजुभाई तथा दिदिबहिनिहरु आरोग्य सेवा केन्द्रबाट प्रत्यक्षरुपमा लाभान्वित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।

१२. कोरोना महामारीको यस विषम परिस्थितिमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राखी गुणस्तरीय स्वास्थ्य सेवामा अझ बढी प्रभावकारिता ल्याउने हेतुले यस गाउँपालिका अन्तर्गतका सामुदायिक स्वास्थ्य ईकाइहरुमा करारसेवामा कार्यरत साविकका स्वास्थ्यकर्मिहरुले खाइपाइ आएको मासिक तलव रु १८००० लाई बढाएर मासिक रु २५००० पुर्याउन आवश्यक व्यवस्था मिलाएको छु ।

१३. नेपाल सरकारले निर्धारण गरे अनुसारको निशुल्क औषधी वितरणका लागि र कोरोना महामारीका बेला दिर्घरोगीहरुलाई अति आवश्यक औषधीहरुको वितरणलाई निशुल्क बनाउन आवश्यक बजेटको प्रवन्ध मिलाएको छु ।

१४. प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ मा पहाडी जिल्लाहरुका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा पोष्टमार्टम गर्न शवगृह निर्माण गर्ने नीतिलाई यस पालिकामा पनि कार्यान्वयन गर्न आवश्यक पहल तथा समन्वय गरिनेछ ।

१५. समुदायमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उत्प्रेरित गरिरहन यस वर्ष पनि महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि खाजा तथा पोशाक खर्चलाई निरन्तरता दिएको छु ।

१६. नेपाल सरकारको अति नै महत्वपूर्ण स्वास्थ्य विमा कार्यक्रमलाई अझ बढी प्रभावकारी तथा विपन्न नागरिक सम्म पहुँच पुर्याउन रु ३ लाख रकम विनियोजन गरेको छु । साथै प्रत्येक वडाहरुमा आवश्यकतानुसारको स्वास्थ्य शिविर कार्यक्रमहरु सञ्चालनमा ल्याईने व्यवस्था मिलाएको छु ।

शिक्षा तर्फ

१७. विधालयको भौतिक संरचनाको निर्माणका लागि गाउँपालिकाले प्रदेश तथा स्थानीय तहको समपुरक अनुदानबाट सञ्चालन गर्न सिंहपुर पशुपति मा वि भवन निर्माणका लागि समयमै आयोजना प्रस्ताव गरी साझेदारीका निम्ति रु २१ लाख र वडा विनियोजनबाट रु ११ लाख गरी जम्मा ३२ लाख बजेट विनियोजन गरेको छु । साथै कावेली आधारभूत विधालयको जिर्ण भवन मर्मत संभारको लागी रु २ लाख र श्रीजङ मा वि को कक्षाकोठा निर्माण तथा मर्मतका लागी रु ४ लाख बजेटको प्रवन्ध मिलाएको छु ।

१८. अमरपुर मा वि को भवन निर्माणका लागी रु १८ लाख १० हजार बजेटको व्यवस्था गरेको छु ।

१९. श्री सिद्व मा वि को सिढि तथा सिलिङ निर्माणका लागि रु ३ लाख ५० हजार, झरना आ वि को ढल नियन्त्रण तथा सिढि निर्माणका लागि रु २ लाख, सरस्वती मा वि को मर्मत संभारका लागि रु ३ लाख ५० हजार, डाडागाउँ आ वि को खेलमैदानमा ग्याविन वाल निर्माणका लागि रु २ लाख र अरुणोदय आ वि, मानेडाडा नि मा वि, कञ्चनजङघा आ वि, फाल्गुनन्द आ वि, महादेव आ वि मा आवश्यकतानुसारको घेरावारा निर्माणका लागि उचित बजेटको प्रवन्ध मिलाएको छु ।

२०. विधालयहरुमा अध्ययनरत छात्र तथा छात्राहरुको शारिरीक बृद्विका लागि आवश्यक खेलकुद मैदानहरुको विकास तथा विस्तार गर्न जयभवानी आ विको खेलमैदानको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु १ लाख, त्यसैगरी जोरपोखरी मा विको खेलमैदान डि पि आर तयारीका लागी रु २ लाख, सिरिजङ मा वि को खेलमैदानका लागि डि पि आर तयार गर्न रु ४ लाख, जयभवानी आ वि को भवन निर्माणका लागि डि पि आर तयार गर्न रु १ लाख ५० हजार बजेट विनियोजन गरेको छु जसबाट आगामी वर्ष विधालयहरुको भौतिक पूर्वाधार विकास तर्फ योजना माग गर्न सहज हुने र बजेट सुनिश्चित हुने अपेक्षा लिएको छु ।

२१. यस गाउँपालिकाका सामुदायिक विधालयहरुमा अध्ययनरत छात्र छात्राहरुमा लुकेको खेल प्रतिभा पहिचान गर्न, खेलकुद मार्फत गाउँपालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाउन सक्ने सम्भावना बोकेका बिधार्थीहरुका लागि बर्षेनी आयोजना गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई अझ बढी प्रभावकारी र सहभागितामुलक बनाउन गाउँपालिकाको तर्फबाट थप रु ४ लाख बजेटको प्रवन्ध मिलाएको छु । साथै महिला तथा पुरुष दुवैका लागि अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालनका लागि रु ५ लाख बजेटको व्यवस्था मिलाएको छु ।

२२. वालबिकास केन्द्रहरुमा कार्यरत सहजकर्ता तथा विधालयहरुमा कार्यरत सहयोगी कर्मचारीहरुले खाइपाइ आएको न्यूनतम तलव स्केललाई मासिक रु १५ हजार पुर्याउन आवश्यक बजेटको प्रवन्ध मिलाएको छु ।

२३. आगामी आर्थिक वर्ष पनि यस गाउँपालिकाभित्र स्थानीय आदिवासी भाषा प्रवर्द्वन कार्यक्रम सञ्चालन गर्न रु १० लाख बजेट विनियोजन गरेको छु ।

खानेपानी तथा सरसफाई

२४. स्वच्छ पिउने पानी र सरसफाईका लागि प्रयाप्त पानीको प्रवन्ध गर्न यस आर्थिक वर्ष पनि आवश्यक बजेटको प्रवन्ध मिलाएको छु । गाउँपालिकाको धेरैजसो भू भाग तथा वस्तीहरुमा खानेपानीको अभावलाई मध्यनजर गरी सातवटै वडाहरुमा आवश्यक पर्न सक्ने फूटकर पाइपहरुको खरिदको लागि एकमुष्ट रु १५ लाख बजेट विनियोजन गरेको छु । साथै वडा बजेट सीमा बाट अमरपुर बृहत खानेपानीको मुहान व्यवस्थापनका लागि रु ४ लाख, डुडेखोला डाडागाउँमा खानेपानी मिटर जडानका लागि रु २ लाख, तीनतले खानेपानी धारा मर्मतका लागी रु २ लाख, विरिलोपा खानेपानी र पिठेधारा खानेपानीको ट्याङकी मर्मतका लागी रु २/२ लाख वजेट विनियोजन गरेको छु ।

२५. अमरपुर तमोर लिफ्टिङ वृहत खानेपानी आयोजनाको लागि रु ३० करोड बराबरको बहुवर्षिय ठेक्का सम्झौता भईसकेको तथा सुभाङ बृहत खानेपानी आयोजनाको लागि रु १ अरब ४ करोड लागतको बहुवर्षिय ठेक्का आहवान भईसकेको जानकारी गराउन चाहन्छु । उक्त गौरवको खानेपानी आयोजनालाई अघि बढाउन सम्बन्धित उपभोक्ता समितिहरुले नियमानुसार व्यहोर्नुपर्ने लागत साझेदारी रकममा गाउँपालिकाले करिब १४ लाख बराबरको अनुदान सहायता यस चालु आ व मा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु । यस बृहत खानेपानी आयोजनाहरुबाट प्रत्यक्ष रुपमा हिलिहाङ गाउँपालिकाका सबै वडावासीहरु लाभान्वित हुने करोमा म विश्वस्त छु ।

२६. गाउँपालिकाको प्रमुख बजारहरु जस्तै गोपेटार, भालुचोक जस्ता शहरकेन्द्रित बजारहरुमा उत्पादन हुने फोहोरमैला व्यवस्थापन तथा सरसफाईका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको छु ।

संष्कृति प्रवर्द्वन

२७. यस गाउँपालिकाभित्र बसोवास गर्ने विभिन्न धर्ममा आस्था राख्ने धर्मावलम्बीहरुको धरोहर तथा सम्पदाहरुको संरक्षण तथा प्रवर्द्वन मार्फत सामाजिक सहिष्णुता तथा सामाजिक सदभावलाई कायम राख्न तथा धार्मिक पर्यटनलाई उजागर गर्न विभिन्न मन्दिर, गुम्वा, चर्च, माङहिमहरुको निर्माण, मर्मत संभार तथा संरक्षणका लागी आवश्यक बजेटको प्रवन्ध मिलाएको छु ।

२८. सिंहवाहिनी पाथिभरा मन्दिरको सतल निर्माणका लागी रु २ लाख, खडग निशानी मन्दिर निर्माणका लागि रु २ लाख, जोरपोखरी गुम्वा निर्माणका लागि रु ५ लाख, गुँरासे माङहिम निर्माणका लागि रु ३ लाख, गुँरासे चर्च को मर्मत तथा सुधारका लागि रु २ लाख, केलाङ साँष्कृतिक समाज चुम्लुङहिमको रङरोगन तथा ट्वाइलेट निर्माण गर्न रु ३ लाख ५० हजार गरी अन्य धेरै मठमन्दिरहरुको निर्माण तथा मर्मतमा आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।

२९. स्थानीय भाषा प्रवर्द्वन तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम सञ्चालन गर्न उचित बजेटको व्यवस्था मिलाएको छु ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, तथा समावेशीकरण

३०. लैंगिक हिंसा निवारणका लागि प्रदेश सशर्त अनुदान मार्फत आएको कोषको प्रभावकारी परिचालन गर्न स्थानीय स्तरमा महिला तथा बालबालिका उपर हुनसक्ने संभावित हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न विधालय र समाजमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

३१. महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर तथा उधमशिल बनाउन रु ४ लाख बजेट विनियोजन गरेको छु । लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न बजेट सहितको कार्यक्रम गरिनेछ । त्यसैगरी दलित समुदायलाई लक्षित गरी व्यवसायिक तथा सिपमूलक तालिमका लागि रु ४ लाख बजेट विनियोजन गरेको छु ।

३२. गाउँपालिकाका विधालयहरुमा गठित बाल क्लवहरुलाई उनिहरुको शारिरीक तथा मानसिक विकासमा योगदान पुर्याउने खालका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक बजेट सहितका कार्यक्रमहरु ल्याईनेछ । गाउँपालिकाभित्र रहेका ईच्छुक युवा युवतीहरुलाई पत्रकारिता सम्बन्धी अभिमुखिकरण तथा आधारभूत तालिम कार्यक्रम प्रदान गरिनेछ ।

३३. गाउँपालिका भित्रका सातै वटा वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको सम्मान गर्न आवश्यक बजेट सहितका उचित कार्यक्रमहरु गरिनेछन ।

३४. प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको त्रिपक्षिय साझेदारीमा सञ्चालन भईरहेको  महत्वपूर्ण अपाङ्गता रोकथाम तथा पुनस्स्थापना कार्यक्रमका लागि रु २० लाख रकम विनियोजन गरी यस कार्यक्रमलाई थप प्रभावकारी तथा नतिजामुखी कार्यान्वयनमा जोड दिईनेछ । साथै अपाङ्गता भएका ग र घ वर्गका व्यक्तिहरुका लागि कार्यविधि बनाई जिविकोपार्जन प्रोत्साहन सम्बन्धी कार्यक्रम ल्याईनेछ जसका लागि रु ६ लाख बजेटको प्रवन्ध गरेको छु ।

कृषि तथा पशुपंछि प्रवर्द्वन 

३५. कृषि तथा पशुजन्य उत्पादनमा बृद्वि गर्न तथा ज्ञान सीप र क्षमता बोकेका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने उद्धेष्यले साविक देखि नै सञ्चालित यूवा स्वरोजगार कार्यक्रमलाई अझ बढी विस्तार गर्न रु २८ लाख बजेटको व्यवस्था मिलाएको छु ।

३६. यस गाउँपालिकामा टमाटर उत्पादनको अत्यन्तै सम्भावना रहेको र अधिकांश कृषकहरु व्यवसायिक उत्पादनमा लागिरहेको तथ्यलाई मध्यनजर गरी गाउँपालिका भरिका टमाटर उत्पादक कृषकहरुलाई ८० प्रतिशत अनुदानमा उन्नत जातको टमाटरको विउ वितरणका लागि रु १० लाख बजेटको प्रवन्ध मिलाईनेछ । साथै अन्य ईच्छुक कृषकहरुका लागि पनि ८० प्रतिशत अनुदानमा थोपा सिँचाई मल्चिङ प्लाष्टिक सहितको टनेल वितरणका लागि रु ६ लाख बजेटको व्यवस्था गरेको छु ।

३७. कृषि उत्पादकत्व बृद्विमा सोझै योगदान दिने भकारो सुधार कार्यक्रमका लागि रु ७ लाख बजेटको प्रवन्ध गरि गाउँपालिकालाई क्रमश प्राङ्गारिक मलको अधिकतम प्रयोग मार्फत अर्गानिक उत्पादन तर्फ अग्रसर बनाईनेछ ।

३८. कृषि तथा पशुजन्य उत्पादनमा व्यवसायिक ढङगले लागेका कृषकहरुलाई थप प्रोत्साहित गर्न आगामी वर्ष पनि ५० प्रतिशत अनुदानमा विधुतीय मोटरबाट चल्ने च्याफ कटर मेशिन वितरण गर्न रु ९ लाख ८० हजार बजेटको व्यवस्था मिलाएको छु ।

३९. पशुजन्य उत्पादनलाई जोड दिदै पशु औषधी खरिद, ढुवानी तथा व्यवस्थापनका लागि रु ७ लाख बजेट, कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्न रु २ लाख र पशु विमा कार्यक्रमका लागि रु ४ लाख बजेटको व्यवस्था गरेको छु ।

४०. बाख्राको मासु उत्पादन तर्फ अग्रसर बन्दै गएको गाउँपालिकाको विभिन्न वडाहरुमा बाख्राको खोर निर्माण तथा गाईपालन फार्महरुको गोठ सुधारका लागि थप अनुदानका कार्यक्रमहरु ल्याईनेछ ।

सिँचाई पूर्वाधार निर्माण तथा सुधार

४१. कृषि क्षेत्रको परिपुरकको रुपमा रहेको सिँचाई क्षेत्रको पूर्वाधार तयार गरी कृषिजन्य उत्पादनलाई बढाउन फुलुवा सिरिसे साम्रे हुँदै पञ्चमी आउने सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।

४२. डुडे खोला सिरिङे मुनि हुँदै सालिङे जाने सिँचाइ निर्माणका लागि रु ३ लाख र सल्लेरी सिँचाइ मर्मतका लागि रु २ लाख बजेटको प्रवन्ध गरिनेछ ।

४३. सुख्खाग्रस्त भाग बढी रहेको गाउँपालिकाको वडा नं ७ मा सिँचाइ लगायत अन्य प्रयोजनका लागि ४ वटा उचित स्थानहरुमा जलभण्डार पोखरी निर्माण गर्न रु ४ लाख बजेटको व्यवस्था मिलाएको छु ।

पर्यटन प्रवर्द्वन

४४. यस गाउँपालिकाको पर्यटन गुरु योजनाले निर्दिष्ट गरेको यस क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रुपमा रहेको हिलिहाङ दरबार क्षेत्रको संवर्द्वन तथा निर्माण मार्फत यस पालिकामा पर्यटकीय सम्भावनाको प्रचुरतालाई प्रवर्द्वन गर्दै आन्तरिक आयमा वृद्वि तथा रोजगारीको सृजना गरी गरिबी निवारणमा टेवा पुग्ने अपेक्षा लिएको छु । गाँउपालिकाले चालु आ व मा नेपाल सरकारको पर्यटन पूर्वाधार विकास उपज साझेदारी कार्यक्रमका लागि प्यागोडा शैलीको हिलिहाङ दरबार भवन निर्माण आयोजनाको प्रस्ताव गरेको र उक्त प्रस्तावित आयोजना छनौट भई वि स २०८० फागुन मसान्त सम्ममा सम्पन्न हुने गरी गाउँपालिकाले बहुवर्षिय ठेक्का आहवान गरिसकेको समेत जानकारी गराउन चाहन्छु । उक्त प्रस्तावित दरबारको भवन निर्माणको कार्यान्वयनका लागि आगामी आर्थिक वर्ष साझेदारी रकममा रु ७५ लाख बजेटको व्यवस्था मिलाएको छु ।

४५. गाउँपालिकाको धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय स्थानको रुपमा रहेको भोटेगढी मन्दिरमा जान आवश्यक पदमार्ग निर्माणका लागि र जोरपोखरी डोप्किले चतुरे पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक रकमको व्यवस्था गरिनेछ ।

४६. यस गाउँपालिकाको वडा नं ६ मा पर्ने सेनेहाङ गढीडाडा, आहाल डाडा, चौरेनी डाडा, मौलो डाडा, पुलीथुम्की, संसारी डाडा तथा माङहिमका ऐतिहासिक स्थानहरुमा पर्यटकीय सम्भावना अत्यधिक रहेकाले आगामी वर्षहरुमा यी स्थानहरुलाई एकिकृत रुपमा संरक्षण, प्रवर्द्वन गर्दै लगिनेछ । साथै गाउँपालिकाको पर्यटकीय स्थानहरुको सूचीमा समावेश गरी क्रमश विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै लगिनेछ ।

लघु घरेलु उधम तथा सहकारी

४७. चालु आर्थिक वर्ष देखि सम्बन्धित स्थानिय तहलाई नै हस्तान्तरित मेडपा कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं ६ र वडा नं ७ मा उधमीहरुको विकास गर्न तथा लघु घरेलु उधमलाई प्रवर्द्वन गर्न सशर्त अनुदानको रुपमा प्राप्त हुने रकमको उच्चतम सदुपयोगमा टेवा पुर्याउन थप बजेटको प्रवन्ध मिलाएको छु ।

४८. मेडपा कार्यक्रमको प्रभावकारी सञ्चालन मार्फत स्थानीय स्रोत साधन सीप क्षमताको परिचालनबाट वास्तविक उधमीहरुको पहिचान तथा सृजना हुने र गरिवि निवारणको राष्ट्रिय लक्ष्यमा प्रत्यक्ष योगदान पुग्ने विश्वास लिएको छु ।

४९. गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थाहरुलाई लेखा व्यवस्थापन तथा कोपो मिस तालिमको लागि आवश्यक बजेटको प्रवन्ध गरिनेछ ।

स्थानीय सडक पूर्वाधार

५०. गाँउपालिकाको गौरवको आयोजनाको रुपमा रहेको प्रस्तावित सल्लेरी सुभाङ पञ्चमी अमरपुर कालोपत्रे सडक नेपाल सरकारले अघि सारेको प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तरगत सम्झौता भई छनौट प्रकृयाको अन्तिम चरणमा रहेकोले उक्त प्रस्तावित सडक आयोजनाको कार्यान्वयनका लागि रु ३ करोड बजेटको प्रवन्ध मिलाएको छु । उक्त प्रस्तावित आयोजना कार्यान्वयन भएमा गाउँपालिकाको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालमा कालोपत्रे पक्की सडक मार्फत जोडी छिटो तथा सहज ढङगले सदरमुकामसँगको अन्तरसम्बन्ध कायम भई रोजगारी सृजनामा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा लिएको छु ।

५१. मेची राजमार्ग स्थित हिलिहाङ गाउँपालिका प्रवेश गर्ने हिलिहाङ गेटदेखि हिलिहाङ दरबारक्षेत्र सम्म पुग्ने कच्ची सडकलाई कालोपत्रे मार्फत जोडन प्रदेश समपूरक अनुदान मार्फत आएको रु ५० लाखमा साझेदारी गरी आगामी आ व देखि नै कार्यान्वयन गर्न रु २१ लाख बजेटको व्यवस्था मिलाएको छु । उक्त प्रस्तावित कालोपत्रे सडक आयोजना कार्यान्वयनले पर्यटकीय हवको रुपमा विस्तार हुँदै गरेको हिलिहाङ दरबारक्षेत्रको पर्यटकीय सम्भावनालाई अझ बढी योगदान दिनेछ भन्ने विश्वास लिएको छु ।

५२. वस्ती टोल देखि वडा कार्यालय सम्म र वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्र सम्म जोड्ने अधुरा स्थानीय सडक आयोजनाहरुको स्तरोन्नति तथा ट्रयाक ओपन गर्न आवश्यक बजेटको प्रवन्ध मिलाएको छु । एकचेप्पा टंक खनालको घर हुँदै तमोर करिडोर जाने बाटोलाई स्तरवृद्वि गरी थप ट्रयाक ओपन गर्न रु १५ लाख बजेटको व्यवस्था मिलाएको छु । थाम्देन तमोर करिडोर मोटरबाटो स्तरवृद्विका लागि रु ७ लाख, प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार जाने बाटो स्तरोन्नतिका लागि रु ७ लाख ५० हजार र अन्य धेरै स साना बाटोहरुको स्तरवृद्वि तथा सरसफाईका लागि उचित बजेटको व्यवस्था गरिनेछ ।

भवन तथा शहरी विकास

५३. गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माणको लागि यस चालु आर्थिक वर्षमा निशुल्क रुपमा जग्गा प्राप्त गरी आवश्यक विस्तृत परियोजना प्रतिवेदन र माटो परिक्षणको कार्य सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष तोकिएको कार्यविधि बमोजिम मुख्य प्रशासनिक भवन निर्माण आयोजनाका लागि थप अनुदानका लागि प्रस्ताव गरिनेछ भने आगामी आर्थिक वर्षदेखि नै प्रशासनिक भवन निर्माणको कार्यलाई प्रारम्भ गर्न रु २ करोड बजेटको प्रवन्ध मिलाएको छु ।

५४. चालु आर्थिक वर्षमा गाउँपालिकाले आयोजना प्रस्ताव गरेकोमा आगामी आर्थिक वर्ष वडा नं १ को वडा कार्यालय भवन निर्माणका लागी रु ८८ लाख र वडा नं ५ को कार्यालय भवन निर्माणका लागि रु ८४ लाख समपुरक अनुदानका रुपमा प्राप्त भएकोले उक्त आयोजनाहरुलाई समयमै कार्यान्वयन गर्न थप रु १ करोड ७२ लाख बजेटको व्यवस्था मिलाएको छु ।

५५. वडा नं २, ३, ६ र ७ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्ति व्यवस्थापन र तयारीका लागी रु १५ लाखका दरले एकमुष्ट रु ६० लाख बजेट विनियोजन गरेको छु ।

५६. वडा नं २, ३ र ६ को वडा कार्यालय भवन निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन तयारीका लागी आवश्यक बजेटको व्यवस्था गरेको छू ।

५७. यस गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका प्रहरी चौकीहरु जस्तै काबेली चौकीको भान्सा घर निर्माण, प्रहरी चौकी गोपेटारको भान्साघर निर्माण, ईलाका प्रहरी कार्यालय अमरपुरको भान्साघर निर्माणमा सहयोग पुर्याउन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

५८. गाउँपालिकाको एक वडा एक सामुदायिक भवनको नीति अनुरुप आगामी वर्ष पनि केही वडाहरुमा सामुदायिक भवन तथा अन्य सामुदायिक संस्थागत भवनहरुको निर्माण तथा मर्मत सुधारमा लाग्ने आवश्यक बजेटको प्रवन्ध मिलाएको छु । मालवासे थलाजुङ सामुदायिक भवन निर्माण तथा मर्मत का लागि रु ३ लाख, २ नं वडामा सामुदायिक भवन निर्माणका लागि थप ३ लाख, हातेमालो कृषक समूहको भवन निर्माणका लागी रु ३ लाख, सिमलबोटे सामुदायिक भवनमा शौचालय निर्माणका लागि रु २ लाख, शेर्पा सामुदायिक भवनको सिंढी निर्माणमा रु ३ लाख, साम्रे सामुदायिक भवनका लागि रु २ लाख, काभ्रे केलाङ भवन प्लाष्टरका लागि रु २ लाख बजेटको व्यवस्था गरिएको छ ।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुको व्यवस्थापन

५९. भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनलाई गाउँपालिकाले उच्च प्राथमिकता दिदै चालु आ व को २०७७ मंसिर २२ गते नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोग ताहाचल र यस गाउँपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भई गाउँपालिका भित्र रहेका वास्तविक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको पहिचान, लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न गरी आयोग समक्ष पठाईएको छ । यो महत्वपूर्ण कार्य सम्पादन गर्न गाउँपालिकाले चालू आ व मा आवश्यक सबै जनशक्ति, भौतिक स्रोत साधनका लागि बजेटको व्यवस्था गरेको थियो भने बाँकी काम पुरा गरी वास्तविक भूमिहीन दलित सुकुम्वासी तथा अव्यवस्थित बसीवासीहरुलाई तोकिएको जग्गा उपलब्ध गराउन आगामी आ व मा पनि पर्याप्त बजेटको व्यवस्था गरेको छु ।

वातावरण तथा विपद व्यवस्थापन

६०।    प्रदेश सरकारको संवत २०७८ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति अनुरुप प्रत्येक स्थानीय तहहरुलाई पालिकासँगको साझेदारीमा २०७८ वटा काष्ठ, गैरकाष्ठ, जडीबुटी तथा फलफुल प्रजातिका बिरुवाहरु रोपण गर्ने प्रदेश अभियानसँग साझेदारी गर्न आगामी आ व का लागी रु २ लाख बजेटको व्यवस्था मिलाएको छु ।

६१. यस गाउँपालिकामा बर्षेनि हिउँदको समयमा विभिन्न सामुदायिक वनहरुमा आगलागि भई मानविय वस्ती टोल तथा जैविक विविधतामा गम्भिर असर परिरहेको तथ्यलाई मध्यनजर गरी आगामी आर्थिक वर्ष बन डढेलो नियन्त्रणका लागि उचित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

६२. गाउँपालिका भित्रका अधिकांश बजार बस्ती टोलहरु आगलागीको उच्च जोखिममा रहेको अवस्था छ भने अर्कातिर विपदका समयमा अग्रपंक्तिमा खोज तथा उद्वारमा खटिने सुरक्षाकर्मीहरुका लागि आवश्यक फायर फाईटिङ सामाग्रीको अभाव पनि छ । त्यसैले भविष्यमा हुनसक्ने ठुलो मानवीय जनधनको क्षतिलाई न्यूनिकरण गर्न उक्त सामाग्रीहरु खरिदका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन

६३. आगामी वर्ष जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आवश्यक पर्ने विषयहरुमा तालिम तथा क्षमता विकास गर्न उचित बजेटको प्रवन्ध मिलाईनेछ ।

६४. आगामी वर्षका लागी गाउँपालिकाले सम्पादन गरेका क्रियाकलापहरुका सम्बन्धमा चौमासिकगत रुपमा सार्वजनिक सुनुवाई तथा समिक्षा गोष्ठीहरु आयोजना गरिनेछ जसका लागि उचित बजेटको प्रवन्ध मिलाइनेछ ।

६५. गाउँपालिकाले आगामी वर्ष संस्थागत विकास तर्फ मुख्य प्रशासकीय भवन, वडा कार्यालयहरुको प्रशासनिक भवन निर्माणका लागी उचित बजेटको प्रवन्ध गर्नेछ जसबाट कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरु भोलीका दिनहरुमा चुस्त दुरुष्त र प्रभावकारी हुने अपेक्षा लिएको छु ।

६६. यस गाउँपालिकामा हालसम्म पनि कर्मचारी समायोजन हुन नसकेको कारण स्विकृत दरबन्दी अनुसारका कर्मचारीहरुको अभावका अवस्थामा उपलब्ध जनशक्तिहरुले नै स्थानीय सरकार सञ्चालन ऐनमा तोकिएका सम्पूर्ण कार्यहरु समयमै सम्पादन गर्नैपर्ने व्यवस्था का कारण सिमित कर्मचारीहरुलाई पर्न गएको कामको चापका कारण प्राय अतिरिक्त समय तथा सार्वजनिक विदाका बेलामा पनि काम गर्नैपर्ने वाध्यात्मक अवस्थाका कारण कर्मचारी समायोजन नभएसम्मका लागि निजहरुलाई मापदण्ड बनाई दिइदै आएको प्रोत्साहत भत्तालाई निरन्तरता प्रदान गर्न आवश्कय बजेटको व्यवस्था मिलाएको छु ।

६७. गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा संस्थागत डेलीभरी पश्चात ३५ दिनभित्रै स्थानीय पञ्जिकाधिकारि कहाँ आइ जन्म दर्ता गर्ने तथा मृत्यू पश्चात ३५ दिन भित्रै दर्ता गराउन आउने नागरिकहरुका लागि गाउँपालिकाले साविकदेखि अवलम्बन गरेको प्रोत्साहन नीतिलाई निरन्तरता दिदै उक्त कार्यक्रमका लागि आवश्यक बजेटको प्रवन्ध मिलाएको छु । यस कार्यक्रमबाट गाउँपालिकाको पञ्जीकरण सम्बन्धी तथ्याङलाई व्यवस्थित गर्न, सामाजिक सुरक्षा भत्तालाई अपडेटेड बनाईराख्न र बाल मृत्युदर घटाउन तथा आमा सुरक्षा लाई टेवा पुर्याउन ठुलो मधत पुग्नेछ भन्ने विश्वास लिएको छु ।

उपस्थित महानुभावहरु,

अब म माथीका विषयक्षेत्रगत तथा उपक्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट विनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।

६८. आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु ४९ करोड ३१ लाख ९५ हजार ९ सय ३६ विनियोजन गरेको छु । कुल विनियोजन मध्ये संघिय सशर्त अनुदान, प्रदेश सशर्त अनुदान र गाउँपालिकाको चालु खर्च समावेश भई एकमुष्ट चालु तर्फ रु ३० करोड ९९ लाख ८० हजार २ सय २२ अर्थात ६२.८५ प्रतिशत, पूँजीगत तर्फ रु १८ करोड ३२ लाख १५ हजार ७ सय १४ अर्थात ३७.१५ प्रतिशत रहेको छ । कुल विनियोजन मध्येबाट गाउँपालिका र वडा कार्यालयहरुको आवश्यकता र औचित्यताको आधारमा प्रत्येक वडाहरुलाई कार्यालय सञ्चालन तर्फ रु ५ लाख १२ हजार र कार्यक्रमहरुका लागि रु ४५ लाख बराबरको सिलिङ हस्तान्तरण गरिएको छ ।

६९. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये गाउँपालिकाको आन्तरिक आय प्रक्षेपणबाट रु ७६ लाख १२ हजार ६ सय ५, नेपाल सरकारको समानिकरण अनुदानबाट रु १० करोड ४४ लाख, राजश्व बाँडफाँडबाट रु ७ करोड २३ लाख १२ हजार, सशर्त अनुदान मार्फत २३ करोड ४६ लाख, समपुरक अनुदान मार्फत रु १ करोड ७२ लाख त्यसैगरी प्रदेश सरकारको समानिकरण अनुदानबाट रु ५८ लाख ९५ हजार, राजश्व बाँडफाँडबाट रु ३९ लाख ५८ हजार, प्रदेश सशर्त अनुदान मार्फत रु १६ लाख १० हजार र प्रदेश समपूरक अनुदानबाट रु १ करोड खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम हालको अनुमानित नगद मौज्दातबाट रु ३ करोड ५६ लाख ८ हजार ३ सय ३१ बाट व्यहोरिनेछ ।

उपस्थित महानुभावहरु तथा प्रत्यक्ष प्रशारण सुनेर बसिरहनु भएका श्रोता महानुभावहरु

हिलिहाङ गाउँपालिकाले नवौँ गाउँसभा सम्म आइपुग्दा आज सम्म भए गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको चाहनामा इट्टा थप्‍ने प्रयास अवश्य पनि गरेको छ । यसै गरी आगामी दिनहरुमा आर्थिक, सामाजिक तथा सांस्कृतिक लगायत सबै क्षेत्रको द्रुतत्तर विकास मार्फत कृषि उर्जा प्रर्यटन र प्रविधि हिलिहाङ गाउँपालिकाको समृद्धि भन्‍ने गाउँपालिकाको दिर्घकालिन आकांक्षा पुरा गर्ने दिशा तर्फ अग्रसर हुने नै छौँ ।

माथि उल्लेखित नीति तथा कार्यक्रमहरुको सफल र प्रभावकारी कार्यन्वयन गर्न र समग्र हिलिहाङबासीको विकासको आकांक्षा पुरा गर्न सबै क्षेत्रबाट साथ सहयोग र योगदान हुने विश्‍वास लिएको छु । अन्त्यमा, यस गरिमामय नवौ गाउँसभाको उद्‍घाटन सत्रमा उपस्थित भई महत्वपूर्ण सुझाव तथा शुभकामना प्रदान गर्नुहुने आदरणीय प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख श्री विष्णु प्रसाद सापकोटाज्यू प्रति विशेष आभार तथा धन्यवाद ज्ञापन गर्दछु । कोरोना महामारीको यस विषम परिस्थितिमा यस नवौँ गाउँसभाको उदघाटन सत्रमा विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, वुद्धिजिवी एवम सरोकारवालाहरु सबैलाई आमन्त्रण गर्न नसकिएकोमा हामी सबै क्षमा चाहान्छौँ भन्दै उपस्थित सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार वर्ग, शिक्षक वर्ग, सुरक्षाकर्मी तथा सम्पूर्ण हिलिहाङबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।

भुवानी प्रसाद लिङ्देन

अध्यक्ष

हिलिहाङ गाउँपालिका

प्रतिक्रिया दिनुहोस्