
पाँचथर, २१ असार
कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवर्द्धन आवश्यक देखिएको भएपनि यसतर्फ सम्वद्ध निकायको ध्यान पुगेको छैन् ।
कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवद्र्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ । तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै न्यून बजेट छुट्ट्याएको छ ।
आगामी आ.व. २०७८/०७९ को बजेटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक आयुर्वेदिक सेवा कार्यक्रमका लागि रु. तीन लाख, महामारी रोकथामका लागि रु. दुई लाख र केन्द्रको स्तरोन्नतिका लागि रु. एक लाख बजेट विनियोजन भएको छ । कोभिड–१९ का सङ्क्रमितको उपचारमा मेहनतका साथ लागेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरको कार्यप्रगतिले समेत यो बजेट र कार्यक्रमले आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन नहुने तथा सरकारले बेवास्ता गरेझैं देखिने सरोकारवालाहरुले वताएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरले हालसम्म जिल्लाका ६०० जनाभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । सङ्क्रमण ब्यापक फैलिएका स्थानमा पुगेर केन्द्रले आयुर्वेदिक औषधि वितरण गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउने, योग, ध्यान, प्राणायम गर्ने, स्थानीय जडिबुटीको प्रयोग गर्ने लगायत विषयमा सङ्क्रमित तथा तिनका आफन्तलाई जानकारी गराउँदै आएको छ ।
आयुर्वेदिक चिकित्सकको सल्लाहबमोजिम आयुर्वेदिक औषधि सेवन गरेका अधिकांश सङ्क्रमितहरुमा जटिल स्वास्थ्य समस्या देखिएको छैन् । अधिकांश सङ्क्रमित सहजै कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । प्रत्येक सङ्क्रमितलाई करीब रु. ७०० पर्ने आयुर्वेदिक औषधि वितरण गर्दा केन्द्रसँग रहेको बजेटले भ्याएन ।

“सङ्क्रमणमुक्त गराउन तथा रोग प्रतिरोधात्मक क्षमता बलियो पार्न आयुर्वेदिक औषधिको प्रभावकारिता देखिएपनि स्रोत साधनको अभावले राम्रो सेवा दिन सकेनौं”, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका प्रमुख डा. सञ्जिवकुमार यादवले भन्नुभयो, “बट्टाको औषधि खरिद गर्दा धेरै मूल्य पर्ने भएपछि सिधै उद्योगबाट औषधि खरिद गरी धेरै सङ्क्रमितलाई पुर्याउने प्रयास गर्यौँ ।”
तर यसरी आयुर्वेदिक औषधि वितरण गर्ने, लक्षित समुदायको रोग प्रतिरोधात्मक क्षमता वढाउने कार्यक्रम सञ्चालन गर्ने कुनै पनि योजना तथा कार्यक्रम प्रादेशिक निकायहरुले जिल्लालाई दिएका होइनन् । जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रले सङ्क्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण गर्ने भनि गरेको निर्णयका आधारमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले औषधि वितरण लगायतका कार्यक्रम गर्दै आएको हो ।
“सामाजिक विकास मन्त्रालय र निर्देशनालयले महामारी नियन्त्रणमा यसरी जाने भनेर कार्ययोजना समेत दिएका थिएनन्”, केन्द्रका प्रमुख डा. यादवले भन्नुभयो, “आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पुर्याउने समयमै ठोस् कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारी रुपमा काम गर्न सकिएन ।” आफूहरुले कार्यालयबाट सञ्चालन हुने सेवाका अतिरिक्त महामारी नियन्त्रणमा सघाउ पुर्याउँदै आयुर्वेदिक चिकित्सालाई जनस्तरमा पुर्याउन काम मागेको भएपनि कामविहीन भएर बस्नु परेको यादवको भनाई छ ।
बजेट अभावका कारण सबै ठाउँमा औषधि पुर्याउन समेत नसकिएको केन्द्रका कविराज निरीक्षक खगेन्द्र पौडेलले वताउनुभयो । उहाँका अनुसार केन्द्रले जिल्लाको फिदिम नगरपालिका सहित हिलिहाङ र याङवरक गाउँपालिकाका गाउँ–गाउँमा पुगेर सङ्क्रमितहरुलाई सेवा दिएको थियो । यस्तै जिल्लाको कुम्मायक, फाल्गनुन्द र मिक्लाजुङमा रहेका सेवा केन्द्रहरुले समेत आयुर्वेदिक औषधि सहितका सेवा प्रदान गरेका थिए ।

“हामीले वितरण गरेका औषधिको सही प्रयोग र स्वस्थ जीवनशैली अपनाउनेहरुमा गम्भीर स्वास्थ्य समस्या देखिएनन्”, कविराज निरीक्षक पौडेलले भन्नुभयो, “तर सबै ठाउँ मागअनुसार औषधि पु¥याउन बजेटले पुगेन ।” कोभिड–१९ सङ्क्रमणपछि ज्वरो, रुघाखोकी, घाँटी, छाती तथा फोक्सोमा हुने समस्याहरु निदान गर्न आयुर्वेद स्वास्थ्य केन्द्रले शरीरको तापक्रम बढाउने, स्वासप्रश्वास सहज बनाउन मद्दत गर्ने, अक्सिजनको मात्रा बढाउने, पाचन प्रणाली राम्रो बनाउनेजस्ता गुणयुक्त औषधि वितरण गर्ने गरिएको पौडेलले जानकारी दिनुभयो ।
यी औषधिको नियमित र सल्लाहबमोजिमको सेवाले धेरै सङ्क्रमितहरुले सहजै सङ्क्रमणलाई जितेको अनुभव सुनाउने गरेका छन् । आफूहरुले दिएको सुझावअनुसार जडिबुटीको प्रयोग गर्नेहरुले समेत समस्या भोग्नु नपरेको पौडेलको भनाई छ ।
जनस्तरमा बेवास्ता गरिँदै आएको आयुर्वेदिक पद्धतिप्रति कोभिड–१९ सङ्क्रमणको महामारीद्वारा सिर्जित कठिनाइमा आकर्षण बढेको भएपनि बजेट र स्रोत साधनको प्रवन्ध नभएसम्म आकर्षणलाई ब्यवहारिक प्रयोगमा ल्याउन नसकिने कविराज निरीक्षक पौडेल वताउनुहुन्छ ।
पाँचथरमा गत वर्ष मात्रै इलामसँगको सीमावर्ती राँके बजारबाट सदरमुकाममा सारिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भवन तथा पर्याप्त सवारीका साधन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।