प्रतिनिधिसभाबारे सर्वोच्चले फैसला दिनै लाग्दा आयो मध्यावधि निर्वाचन तालिका



फिदिम । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले अगामी कात्तिक २६ र मंसिर ३ गते तय गरिएको मध्यावधि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

विपक्षी दलहरूले प्रतिनिधिसभा पुनस्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ जारी रहेका बेला आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

सर्वोच्चमा पक्ष विपक्षका वकिलले बहस सकेपछि एमिकस क्युरीले सोमबार सुझाव दिइरहेका छन्। सर्वोच्चले जेठ ८ मा भएको प्रतिनिधिसभा विघटनबारे एमिकस क्युरीको सुझाव सुनिसकेपछि फैसला दिनेछ।

यस्तो छ कार्यतालिका

आयोगले सार्वजनिक गरेको कार्यतालिकामा यही असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुनेछ। असार ३१ मै दल दर्ताको सूचना निकाल्ने योजना आयोगको छ। आयोगले मध्यावधि निर्वाचनका लागि आगामी भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्ययोजना बनाएको छ।

आयोगले कात्तिक २६ मा हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज २० गते देखि २१ गतेसम्म तोकिएको छ। असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही चुनाव चिन्ह दिइने आयोगले जनाएको छ ।

मंसिर ३ मा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति असोज ३१ देखि कात्तिक १ गतेसम्मलाई तोकिएको छ। आयोगका अनुसार कात्तिक १ गते उम्मेदवारी मनोनयन पत्र दर्ता भएको सूची निकालिनेछ। कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर त्यही दिन उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिनेछ। (फरकधार डटकमबाट)

प्रतिक्रिया दिनुहोस्