
एजेन्सी । कप्तान ह्यारी केनले दुई गोल गरेपछि इङ्ग्ल्याण्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । इङ्ग्ल्याण्ड ४–० को सहज जितसँगै अन्तिम चारमा प्रवेश गरेको हो ।
केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । काउन्टर अट्याकमा केही अवसर सिर्जना गरेपनि प्रतियोगितामा हालसम्म गोल नखाएको इङ्ग्ल्याण्डको डिफेन्सले संयमित प्रदर्शन गरेको थियो । आक्रमणमा इङ्ग्ल्याण्डले थप अवसर सिर्जना गरेपनि युक्रेनी गोलरक्षक बाधक बने ।
दोस्रो हाफको पहिलो मिनेटमा नै गोल खाएपछि युक्रेन सम्हालिन सकेन । त्यसको केही मिनेटमा नै केनले हेडरमार्फत गोल गर्दै अग्रता बढाएपछि युक्रेनले रक्षात्मक खेल खेलेको थियो । वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इङ्ग्ल्याण्ड फराकिलो जिततर्फ उन्मुख भएको थियो । अब इङ्ग्ल्याण्डले फाइनल प्रवेशका निम्ति डेनमार्कको सामना गर्नेछ ।
खेलको चौथो मिनेटमा नै इङ्ग्ल्याण्डले केनको गोलमा अग्रता लिएको थियो । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको थ्रु पासलाई केनले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक बुस्कानलाई लाग्दै गोलमा परिणत भएको थियो ।
२७ औं मिनेटमा स्टर्लिङको प्रहारलाई युक्रेनी डिफेन्डर क्रिस्तोभले रोकेपछि इङ्ग्ल्याण्डको डरलाग्दो आक्रमण रोकिएको थियो । त्यसको दुई मिनेटपछि लुक शाको फ्रिकिकमा केनको हेडर पोस्टभन्दा माथिबाट गयो । ३३ औं मिनेटमा डेक्लन राइसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बुस्कानले मुस्किलले विफल पारे ।
३७ औं मिनेटमा युक्रेनले काउन्टर अट्याकमा बढाएको आक्रमणमा जिन्चेन्कोले गरेको अन्तिम प्रहारलाई मेसन माउन्टले रोकेका थिए । ४० औं मिनेटमा शाको पासमा जेडन सान्चोको प्रहारमा पनि बुस्कान नै बाधक बने ।
दोस्रो हाफको सुरुवाती मिनेटमा नै ह्यारी मगाएरले गोल गर्दै इङ्ग्ल्याण्डको अग्रता दोब्बर पारे । शाको फ्रिकिकमा मगाएरले हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरे । शाले बायाँ विंगबाट दिएको क्रसमा केनले हेडरमार्फत गोल गरे । उनको हेडर गोलरक्षक बुस्कानको खुट्टा मुनिबाट गोल भएको थियो ।
६२ औं मिनेटमा केनले पेनाल्टी क्षेत्र नजिकबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुस्कानले डाइभ दिँदै विफल पारे । त्यसै बचाउबाट आएको कर्नरमा जोर्डन हेन्डरसनले गोल गर्दै इङ्ग्ल्याण्डलाई ४–० ले अघि बढाए । माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरे ।
इङ्ग्ल्याण्डले अब सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले हिजो भएको तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २–१ को जित दर्ता गर्न सफल भएको थियो । (हाम्रो खेलकुदबाट)