उरुग्वे कोपा अमेरिकाबाट बाहिरियो, कोलोम्बिया सेमिफाइनलमा



एजेन्सी । गोलरक्षक डेविड ओस्पिनाले टाइब्रेकरमा दुई बचाउ गरेपछि कोलोम्बियाले कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेलाई पराजित गरेको छ । टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै कोलोम्बियाले सेमिफाइनलमा स्थान बनाएको छ ।

निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले एक अर्काको गोलरक्षकलाई खासै धेरै समस्या दिन सकेनन् । ४२ औं मिनेटमा उरुग्वेका फेडे भालभेर्डेले एडिन्सन काभानीलाई थ्रु पासमा अघि पठाएपनि येरी मिनाले उत्कृष्ट ट्याकल गर्दै खतरा टारे । पहिलो हाफको अन्तिम मिनेटमा कोलोम्बिया दुभान जपाटाको प्रहारलाई गोलरक्षक फर्नान्डो मुस्लेराले विफल पारे ।

दोस्रो हाफमा उरुग्वेका नाहितान नान्देजको प्रहारलाई कप्तान ओस्पिनाले रोकेका थिए । ७३ औं मिनेटमा सान्तोस बोरेको क्रसमा जपाटाको हेडरमा मुस्लेराको खुट्टा बाधक बन्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो ।

टाइब्रेकरमा ओस्पिनाले जोसे मारिया जिमिनेज र माटियास भिनाको प्रहारलाई विफल पार्दै कोलोम्बियाको जित पक्का गरेका थिए । कोलोम्बियाका लागि भने सबै ४ प्रहार गोल भएको थियो ।

कोलोम्बियाका लागि दुभान जपाटाले पहिलो प्रहारमा गोल गरेपछि उरुग्वेका एडिन्सन काभानी र कोलोम्बियाकै देभिन्सन सान्चेजले गोल गरे । एटलेटिको म्याड्रिडका डिफेन्डर जोसे जिमिनेजले गरेको दोस्रो प्रहार विफल पार्दै ओस्पिनाले टोलीलाई अघि राखेका थिए ।

कोलोम्बियाका येरी मिना, उरुग्वेका लुइस सुआरेज र त्यसपछि कोलोम्बियाका मिगुएल बोर्जाले पेनाल्टीमा कुनै गल्ति गरेनन् । चौथो प्रहार गर्न आएका उरुग्वेका भिनाको प्रहार पनि ओस्पिनाले विफल पारेपछि खेल कोलोम्बियाले जितेको थियो ।

कोलोम्बियाले अर्जेन्टिना र इक्वेडरबीचको अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा पेरु र ब्राजिलले भिड्नेछन् । (हाम्रो खेलकुदबाट)

प्रतिक्रिया दिनुहोस्