१२ वर्षीय अभिमन्यू मिश्र बने चेसका ‘ग्रान्डमास्टर



एजेन्सी । १२ वर्षीय अभिमन्यू मिश्रले सबैभन्दा सानो उमेरमा ‘ग्रान्डमास्टर’ बनेर चेसमा रेकर्ड बनाएका छन्। उनी अमेरिकाको न्यूजर्सीबाट चेस खेल्छन्। उनले यसअघिको रेकर्डलाई दुई महिनाको फरकले उछिनेका हुन्।

अभिमन्यू १२ वर्ष, चार महिना, २५ दिनमा ग्रान्डमास्टर भएका हुन्। यसअघि रसियाका सर्गे काराकिनले १२ वर्ष, ७ महिनाको उमेरमा ग्रान्डमास्टरको टाइटल पाएका थिए। सन् २००२ मा रेकर्ड बनाएका काराकिनले १९ वर्षसम्म रेकर्ड कायम राख्न सफल भएका थिए।

यो रेकर्ड अभिमन्यूले उछिनेपछि चेसडटकमसँग कुराकानी गर्दै काराकिनले भनेका छन्, “ढिलो–चाँडो यस्तो हुन्छ भन्ने मलाई थाहा थियो। यो रेकर्ड अब आफ्नो नभएकाले अलिकति दुखी त छु। तर उसलाई बधाई पनि दिन चाहन्छु। भविष्यमा अग्रपंक्तिको खेलाडीका रूपमा उसलाई देख्ने मन छ।”

चेसको ग्रान्डमास्टर बन्न खेलाडीले तीनवटा प्रतियोगितामा ग्रान्डमास्टर नर्म बनाउनपर्छ। चेसको रेकर्ड राख्ने फिडेको आधिकारिक साइटमा खेलमार्फत खेलाडीले २५०० रेटिङ पनि बनाएको हुनुपर्छ।

अभिमन्यूले ग्रान्डमास्टरको रेकर्ड बनाउन पछिल्लो समय बुडापेस्ट, हंगेरीमा रहेर लगातार चेस प्रतियोगिताहरू खेलेका थिए। त्यहीक्रममा दुई महिनाअघि उनले दुइटा ग्रान्डमास्टर नर्म बनाइसकेका थिए। तेस्रो नर्मका लागि उनले ‘जिएम मिक्स टुर्नामेन्ट’ मा ग्रान्डमास्टर लिओन मेन्डोन्कालाई हराएका थिए।

ग्रान्डमास्टरको रेकर्ड बनाएपछि ट्वीटरमार्फत अभिमन्यूले लेखेका छन्, “सबैभन्दा ठूलो प्रतिस्पर्धी (महामारी) लाई मैले १४ महिनापछि बल्ल जितेँ। यो माया र साथका लागि सबैलाई धन्यवाद। अब वर्ल्ड कपको प्रतिक्षामा छु।”

अभिमन्यूले यसअघि ९ वर्षको उमेरमा नेसनल मास्टरको रेकर्ड बनाएका थिए। १० वर्ष, ९ महिना, २० दिनमा उनले सानो उमेरमा इन्टरनेसनल मास्टर (आइएम) बनेर रेकर्ड पनि बनाइसकेका छन्। उनले साढे दुई वर्षको उमेरदेखि चेस खेल्न थालेका हुन्। नेपालबाट भने अहिलेसम्म कसैले पनि ग्रान्डमास्टर टाइटल पाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्