छैन् सङ्क्रमण घट्ने छाँट



फिदिम, १७ असार

पाँचथर जिल्लामा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्यामा कमी आउँने कुनै छाँट देखिएको छैन् । दैनिक परीक्षणमा उल्लेख्य मात्रामा सङ्क्रमित थपिँदै आएका छन् । जिल्लामा अझैपनि कूल परीक्षणमा कम्तिमा ३० प्रतिशत सङ्क्रमित भेटिने गरेका छन् । कतिपय गाउँहरुमा सङ्क्रमण दर ५० प्रतिशतभन्दा माथि समेत रहने गरेको पाइएको छ ।

अहिले जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा बढी सङ्क्रमित फेला परिरहेका छन् । बाँकी स्थानीय तहहरुमा समेत दैनिकजसो सङ्क्रमित फेला परिरहेका भएपनि सङ्क्रमण दर चिन्ताजनक अवस्थामा छैन् । याङवरक, फाल्गुनन्द र फिदिममा भने बजारी तथा ग्रामीण भेगमा सङ्क्रमित भेटिने र कोभिड–१९ को लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएका विरामीको सङ्ख्या प्रशस्तै भेटिने गरेका छन् ।

गत असार १५ गते कन्ट्र्याक ट्रेसिङमा परेका तथा कोभिड–१९ को लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएका जिल्लाका ८२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै आज विभिन्न स्थानीय तहमा ७४ जनामा गरिएको एण्टिजेन परीक्षणमा ३५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङ्कलाई आधार मानेर जिल्ला प्रशासन कार्यालय पाँचथरले आज जारी गरेको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार हालसम्म जिल्लामा कूल दुई हजार २३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कूल पुष्टि भएका सङ्क्रमित मध्येमा एक हजार ८१७ जना निको भएका छन् । सङ्क्रमित भएका मध्ये जिल्ला भित्र १० जनाको उपचारका क्रममा मृत्यु भएको छ । थप उपचारका लागि जिल्ला बाहिर पठाइएका १५ बढीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या करीब ४०० रहेको भएपनि दैनिक सङ्क्रमण उल्लेख्य हुनाले सङ्क्रमण नियन्त्रण चुनौतिपूर्ण र चिन्ताजनक बन्दै गएको हो ।

आर्थिक वर्षको समाप्तिसँगै निर्माणका काम सम्पन्न गर्ने, आर्थिक कारोबार पूरा गर्ने, मनसुनको सक्रियतासँगै बर्खे जोहो गर्ने, बर्खाका काम गर्ने चटारो लगायतले मानवीय चहलपहल ह्वात्तै बढेको छ । एकातिर मानवीय चहलपहल बढेको छ भने अर्कातिर सङ्क्रमणको जालो तोडिन सकेको छैन् । जसकारण कोरोनाभाइरस सङ्क्रमण भुसोको आगो जसरी निरन्तर फैलिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्