बचेनन् ‘ग्रुप अफ डेथ’ का टोली



एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

निकै प्रतिस्पर्धात्मक रहेको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए । समूहमा सबै खेल निकै प्रतिस्पर्धात्मक रहँदा अन्तिम खेलसम्म पनि फ्रान्ससँगै सबै तीन टोलीको अघि बढ्ने सम्भावना जीवित थियो । अन्तिम दिनको खेल अवधिभर सबै चार टोलीले शीर्ष दुई स्थान पनि लिएका थिए । तर अन्त्यमा हंगेरी जर्मनीसँग २-२ को बराबरीमा रोकिंदै समूह चरणबाट नै बिदा हुन पुग्यो ।

समूह एफ मा फ्रान्सले ३ खेलमा ५ अंक जोड्दै समूहको शीर्षस्थानमा रहेको थियो । जर्मनी र पोर्चुगलले समान ४-४ अंक जोडेपनि हेड टु हेडमा जर्मनी अघि रहँदै दोस्रो भयो । ३ खेलमा २ अंक जोडेको हंगेरी पुछारमा रहेको थियो ।

राउन्ड अफ १६ मा पोर्चुगल बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । साविक विजेता समेत रहेको पोर्चुगलले १(० को हार बेहोरेको थियो । बेल्जियमका थोर्गन हाजार्डले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई घर फर्काएका थिए । उक्त खेलमा पोर्चुगलले लगातार आक्रमण गरेपनि फिनिसमा निकै कमजोर देखिएको थियो ।

सोमबार भएको खेलमा फ्रान्सले ३(१ को अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्डसँग टाइब्रेकरमा हार बेहोरेको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।

बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।

मंगलबारको खेलमा इंग्ल्यान्डले २-० ले हराएपछि जर्मनीको पनि यात्रा टुंगिएको थियो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

त्यसपछि इंग्ल्यान्डले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पकडमा ल्यायो । त्यसबीचमा जर्मनीका थोमस मुलरले बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्दा इंग्ल्यान्ड अघि बढेको हो । प्रतियोगितामा उपाधि दाबेदार मानिएका तीन टोली एकै समुहमा पर्दा धेरैले कुनै एक टोली समूहमा सिमित हुने आँकलन गरेका थिए । तर अन्त्यमा तीनै टोलीले नकआउट चरणमा स्थान बनाएपनि क्वाटरफाइनलमा भने स्थान बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्