
एजेन्सी । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता कोपा अमेरिका–२०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको खेल सकिएसंगै अन्तिम ८ मा खेल्ने टोलीहरुको टुंगो लागेको हो । सोमबार भएको समूह ुएु को अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गर्यो । कप्तान लिओनेल मेस्सीले २ गोल गर्दा पापु गोमेज र लाउटारो मार्टिनेजले १–१ गोल गरे ।
यस्तै समूहको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । उरुग्वेको जितमा एडिन्सन काभानीले २१ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको हो ।
जितसँगै अर्जेन्टिना समूह ‘ए’ को शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरी गर्दै १० अंक जोड्यो । उरुग्वे पनि पाराग्वेमाथि १–० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो ।
यसअघि समूह ‘बी’ मा अपराजित रहेको ब्राजिलले शीर्षस्थान ओगटेको थियो । ब्राजिलले ४ खेलमा १० अंक जोड्दा दोस्रो स्थानको पेरुले ४ खेलमा ७ अंक जोड्यो । कोलोम्बिया ४ खेलमा ४ अंक जोड्दै तेस्रो र इक्वेडर ३ अंकसाथ चौथो भएको थियो । २ अंक जोडेको भेनेजुएला भने समूह चरणबाट नै बाहिरियो ।
क्वाटरफाइनलमा साविक विजेता ब्राजिलले त्यसअघिका दुई संस्करणमा उपाधि जितेको चिलीको सामना गर्नेछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ । उरुग्वेले कोलोम्बियाको सामना गर्दा पेरु र पाराग्वे पनि सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् ।
क्वाटरफाइनल :
३ जुलाई, शनिबार : पेरुविरुद्ध पाराग्वे: विहान २:४५ बजे – क्वाटरफाइनल-१
३ जुलाई, शनिबार : ब्राजिलविरुद्ध चिली: विहान ५:४५ बजे – क्वाटरफाइनल-२
४ जुलाई, आइतबार : उरुग्वेविरुद्ध कोलोम्बिया: विहान ३:४५ बजे – क्वाटरफाइनल-३
४ जुलाई, आइतबार : अर्जेन्टिनाविरुद्ध इक्वेडर: विहान ६:४५ बजे – क्वाटरफाइनल-४ ।