
फिदिम, १५ असार
देशका अन्य जिल्लामा कोरोनाभाइरस सङ्क्रमणको दोश्रो लहर नियन्त्रण नजिक पुग्दा पाँचथरमा भने सङ्क्रमण कम हुन सकेको छैन् ।
देशका अन्य स्थान पूर्ववत र सामान्य स्थानमा फर्कन लाग्दा जिल्लावासी समेत सोही अपेक्षा र तयारीमा छन् । तर पाँचथरमा दैनिक उल्लेख्य रुपमा कोभिड–१९ का सङ्क्रमित थप भइरहेका छन् । समग्रमा पाँचथरमा सङ्क्रमण दर समेत उल्लेख्य रुपमा घट्न सकेको छैन् ।
मङ्गलबार पाँचथरमा ५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १३७ जनाको एण्टिजेन परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्कअनुसार जिल्लामा सङ्क्रमण दर ३८.६८ प्रतिशत छ । आज नै ८२ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भएको छ ।
हिजो सोमवार पाँचथरमा ८८ जनामा एण्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै असार १३ गते आइतवार ९४ जनामा गरिएको एण्टिजेन परीक्षणमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । परीक्षणको यो तथ्याङ्कअनुसार सङ्क्रमण दर झण्डै ४८ प्रतिशत हुन आउँछ ।
असार १२ गते शनिवार २८ जनामा एण्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै असार ११ गते शुक्रवार असार ९ गते फिदिममा सङ्कलित ५३ जनाको स्बावको पीसीआर परीक्षणबाट २६ जना तथा ११ गते ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
असार ११ गतेदेखि १५ गतेसम्मका पाँच दिनमा ४६४ जनाको एण्टिजेन तथा पीसीआर परीक्षणको नतिजाअनुसार १८७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्कअनुसार जिल्लामा सङ्क्रमणदर ४०.३० प्रतिशत रहेको छ ।
पाँचथरमा वैशाक २७ गते मध्यरातदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा हालसम्म छ पटक थप भएको छ । पछिल्लो पटक आजबाट थप भएको निषेधाज्ञा आउँदो असार २१ गते मध्यरातसम्म लागू हुनेछ । निषेधाज्ञा केही खुकुलो भएपछि जनजीवन सामान्य वन्नेतर्फ लागेपनि सङ्क्रमण नघट्दा जोखिम झनै बढेको छ ।
पाँचथरमा हालसम्म कूल दुई हजार १७७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ७५४ जना निको भएका छन् । अस्थायी कोभिड अस्पताल (एचडीयू)मा हाल १४ जना उपचाररत छन् । यस्तै हालसम्म जिल्ला उपचार सम्भव नभएका २६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।