बराबरीमा रोकियो ब्राजिल



एजेन्सी । फरवार्ड नेयमार लगायत आक्रमणका खेलाडीलाई विश्राम दिएको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ ।

कोपा अमेरिका २०२१ अन्तर्गत समूह बी को खेलमा इक्वेडरसँग १–१ को बराबरीमा रोकिएपछि ब्राजिल अंक बाँड्न बाध्य भएको हो । ब्राजिलले खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । फ्रिकिकमा आएको क्रसमा मिलिसाओको हेडरलाई गोलरक्षकले समेत बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ५३ औं मिनेटमा एन्जल मेनाले बराबरी गोल फर्काएका थिए । एनर भ्यालेन्सियाको फितलो हेडरलाई ब्राजिलका डिफेन्सले क्लिअर गर्न नसक्दा मेनाले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । बक्सभित्र लगातार हेडर गर्दा ब्राजिलको डिफेन्सले कमजोर प्रदर्शन गर्दा गोलरक्षक एलिसनले अन्तिम प्रहार बचाउने अवसर नै पाएनन् ।

समूहको अर्को खेलमा पेरुले भेनेजुएलामाथि १–० को जित हासिल गर्यो । खेलको ४८ औं मिनेटमा आन्द्रे क्यरिलोले गरेको गोल नै पेरुको जितमा निर्णायक बनेको थियो । यस जितले पेरु समूह बी को दोस्रो स्थानमा रहन सफल भयो ।

समग्रमा ब्राजिलले ४ खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का गर्यो । पेरुले ४ खेलमा ७ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा ४ अंक जोडेको कोलोम्बिया तेस्रो भयो । ब्राजिललाई बराबरीमा रोक्दै इक्वेडर कुल ३ अंकसाथ चौथो भयो । भेनेजुएलाभने २ अंकसाथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्