सामूहिक प्रयासले महामारीसँग जुध्न सहज



रवीन्द्र काफ्ले

पाँचथर, १० असार

नयाँ भेरिअन्टको कोरोनाभाइरस सङ्क्रमण देशब्यापी रुपमा फैलँदै गर्दा देशैभरी अक्सिजनको अभाव भयो । ठूला अस्पताहरुमै अक्सिजनको अभाव भएपछि कोरोनाभाइरस सङ्क्रमितहरुलाई गम्भीर समस्या त पर्‍यो नै विरामीका आफन्त सहित अस्पताल, प्रशासन लगायत सम्वद्ध सबैले सकस ब्यहोर्नुपर्‍यो । एकैसाथ एक दर्जनबढी जिल्लावासीमा सङ्क्रमण देखिएपछि पाँचथरमा पनि यही समस्या आइलाग्यो । पाँचथर जिल्ला अस्पतालमा जम्मा १४ थान पुराना अक्सिजन सिलिण्डर थिए । दिनहुँ फैलँदो सङ्क्रमणसँग जुध्न तत्कालै पर्‍याप्त पूर्वाधारको प्रवन्ध गर्नुपर्ने अपरिहार्‍यता थियो ।

जिल्लावासीको आवश्यकता अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको प्रवन्ध गरी गम्भीर समस्या देखिएका सङ्क्रमितहरुलाई सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउनु थियो । सरकारी निकायबाट तत्कालै पर्‍याप्त सामग्री प्राप्त हुने सम्भावना थिएन् । यस्तो जटिलता आइपरेपछि जिल्लावासीले थालेको सामूहिक प्रयासले अन्ततः प्रशस्तै स्वास्थ्य उपकरण र सामग्रीको प्रवन्ध भई महामारीसँग जुध्न सहज भयो । यति मात्रै होइन्, सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समस्यामा परेका सर्वसाधारणका समस्या समाधान गर्न पनि जिल्लावासी सफल भइरहेका छन् । यी कार्यमा जिल्लाको नेतृत्वदेखि समुदायका धेरै पक्षहरु परिचालित भए ।

ब्यवसायीको अगुवाई

अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर अत्यावाश्यक भएपछि यसको प्रवन्ध गर्ने कार्यको अगुवाई ब्यवसायीहरुले थाले । पाँचथर उद्योग वाणिज्य संघले संघका पदाधिकारी सहित अन्य दाताहरुमा सहयोगका लागि आह्वान गर्‍यो । वैशाक तेश्रो सातासम्म संघले रु. तीन लाख रकम सङ्कलन गरी २० थान अक्सिजन सिलिण्डर र दुई थान कन्सन्ट्रेटर अस्थायी कोभिड–१९ अस्पताललाई बुझायो । महामारीको सुरुआतमै सङ्क्रमितको जीवन रक्षा गर्न संघको प्रयास फलदायी भयो ।

तर पाँचथर उद्योग वाणिज्य संघ यत्तिमा सिमित भएन । स्वास्थ्य सामग्रीको जोहो गर्ने अभियानलाई निरन्तरता दिई सहयोग सङ्कलनको अभियान चलायो । जेठ तेश्रो साता आइपुग्दा संघले रु. ५५ लाख ६० हजार मूल्यका स्वास्थ्य सामग्री अस्थायी कोभिड अस्पताललाई बुझायो । उक्त लागतबाट संघले १० लिटर प्रतिमिनेट क्षमताका २० वटा अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका ५० थान अक्सिजन सिलिण्डर, पाँच थान मल्टीपारामिटर प्यासेण्ट मोनिटर र १०० थान अक्सिमिटर उपलब्ध गराएको संघका महासचिव नवराज घिमिरेको भनाई छ ।

संघका अध्यक्ष दीपक नेपालका अनुसार संघले जेठ ४ गते कोभिड अस्पताललाई स्वास्थ्य सामग्रीको आवश्यक देखिएकाले सहयोग गर्ने निर्णय गर्दै दाताहरुले स्वेच्छाले सहयोग गर्न अपील गरेको थियो । यस क्रममा देश तथा विदेशमा रहेका सहयोगीहरुबाट रु. ५७ लाख २८ हजार ७१० रकम सङ्कलन भएको थियो । “संघको अपीललाई बुझेर सबैले स्वस्फुर्त सहयोग गर्नुभएको हो”, अध्यक्ष नेपालले भन्नुभयो । तीन सय जनाभन्दा बढीले संघको अभियानमा रकम प्रदान गरेका थिए । संघको अभियानमा अष्ट्रेलियामा रहेका नेपालीहरुले मात्रै रु. ११ लाख बढी रकम सङ्कलन गरेका थिए ।

देश विदेशबाट स्वास्थ्य सामग्री

जिल्लामा स्वास्थ्य सामग्रीको जोहो गर्ने अभियानमा देश विदेशबाट सहयोग प्राप्त भयो । जिल्ला वाहिर पनि रकम तथा सामग्री सङ्कलनको अभियान चलाइयो । यस क्रममा पाँचथर समाज, काठमाण्डौंले जिल्लाका स्थानीय तहहरुलाई रु. १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गरायो । समाजका सदस्यहरु तथा दाताहरुबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीई लगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरुलाई उपलब्ध गरायो ।

समाजले रु. १३ लाख २६ हजार ५०० मूल्यका सामग्री उपलब्ध गराएको हो । समाजले जिल्लाका सात वटा गाउँपालिकाहरुलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । समाजले एण्टिजेन किट सबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको समाजका सचिव भूमिका सुब्बाले जानकारी दिनुभयो । यस्तै समाजले जिल्लाका ६० वटै वडालाई २/२ थानका दरले पल्स अक्सिमिटर उपलब्ध गराएको छ । यस्तै डिस्पोजेवल र रियुजेवल पीपीई ५० थानका दरले उपलब्ध गराइएको सुब्बाले वताउनुभयो ।

समाजले काठमाण्डौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होमआइसोलेसनमा रहेकालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग समेत गरेको छ । समाजले कोभिड–१९ सङ्क्रमणको महामारीमा ‘पाँचथरेली बचाऔँ’ अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म रु. १८ लाख, १७ हजार १०५ सङ्कलन भएको समाजले जनाएको छ ।

अक्सिजन सिलिण्डरको चरम अभाव भएपछि पाँचथरमा प्रहरीले विभिन्न स्थानबाट १९ थान अक्सिजन सिलिण्डर सङ्कलन ग¥यो । जिल्लामा ब्यक्तिगत तथा ब्यवसायिक प्रतिष्ठानसँग रहेका अक्सिजन सिलिण्डर सङ्कलन गरी प्रहरीले अस्थायी कोभिड–१९ अस्पताललाई बुझायो । अक्सिजनको अभाव हुनसक्ने देखिएपछि जिल्लावासीको जीवनरक्षाका लागि प्रहरीले अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको भनाई छ । प्रहरीले कोभिड–१९ सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखी आफूसँग भएका अक्सिजन सिलिण्डर प्रहरी वा अस्पताललाई बुझाउन अपील समेत गर्‍यो ।

जिल्लामा महामारीको सङ्कटसँग जुध्न कमजोर पूर्वाधार रहेको बुझेपछि स्वास्थ्य सामग्रीको प्रवन्ध गर्न जिल्लावाट निर्वाचित निवर्तमान प्रतिनिधिसभाका सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ पनि सक्रिय हुनुभयो । यस क्रममा उहाँले पहल लिई स्वास्थ्य सेवा कोभिड अस्तपाललाई औषधि र स्वास्थ्य सामग्रीको प्रवन्ध गर्नुभयो ।

उपलब्ध सामग्रीहरुमा कोभिड–१९ का सङ्क्रमितको उपचारमा प्रयोग हुने ३० प्रकारका औषधि, १० थान अक्सिजन सिलिण्डर तथा दुई थान अक्सिजन कन्सन्टे«टर, १० थान हस्पिटल बेड तथा बेडका लागि आवश्यक सामग्रीहरु छन् । यस्तै एण्टिजेन किट, गाउन, पीपीई सेट, पञ्जा, सर्जिकल मास्क, सेफ्टी चस्मा, सेनिटाइजर, थर्मोमिटर, फेससिल्ड लगायत सामग्री समेत प्राप्त भएका थिए । जिल्ला अस्पतालमा अभाव भएका औषधिहरु समेत उपलब्ध हुँदा उपचारमा सहज भएको जिल्ला अस्पतालका हेल्थ असिस्टेण्डट सोम दङ्गालको भनाई छ ।

सोही क्रममा समृद्ध पाँचथरले समेत एन–९५ मास्क, पञ्जा, पीपीई सेट लगायत सामग्री उपलब्ध गराएको थियो । स्वास्थ्य सामग्रीको प्रवन्ध गर्न सबै निकाय सक्रिय भए । यस क्रममा गोर्खा वेलफेयर ट्रस्टले १० लिटर प्रतिमिनेट क्षमताका अक्सिजन कन्सन्ट्रेटर पाँच थान, पीपीई सेट, पल्स अक्सिमिटर लगायत सामग्री जिल्ला वेलफेयर कार्यालय मार्फत उपलब्ध गरायो ।

गाउँ–गाउँ पुगे स्वास्थ्य सामग्री

महामारीको सङ्कटले समस्या मात्रै ल्याएन, स्वास्थ्यका पूर्वाधारको गुणस्तर सुधार र गाउँ–गाउँसम्म स्वास्थ्य सामग्री पुर्‍याउन मद्दत समेत गर्‍यो । जिल्लाको कुम्मायक गाउँपालिका–२ माङजाबुङ घर भई हाल दक्षिण कोरियामा रहनुभएका गजेन्द्र शेर्माले वडाबासीलाई व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री उपलब्ध गराउनुयो । उहाँले रु. दुई लाख १६ हजार मूल्यमा स्वास्थ्य चौकी माङजाबुङलाई ४३ किलोका ६ थान अक्सिजन सिलिण्डर, वडाका प्रत्येक घर–घरमा वितरणका लागि आठ हजार ५०० थान मास्क र ८५० थान सेनिटाइजर उपलब्ध गराउनुभयो ।

आठ सय १५ घरधुरीमा करीब चार हजार जनसंख्या रहेको, भौगोलिक रुपमा दुर्गम क्षेत्रका रुपमा रहेको वडामा कोभिड–१९ का संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन र नागरिकलाई माहामारीबाट बचाउन मद्दत गरिएको गजेन्द्रका दाजु घनेन्द्रकुमार वताउनुभयो ।

यता फाल्गुनन्द एकता समाज मलेसियाले जिल्लाको फाल्गुनन्द गाउँपालिकालाई ११ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । मलेसियामा रहेका फाल्गुनन्द गाउँपालिकावासीहरुबाट सङ्कलित रु. दुई लाख रुपैयाँबाट यी सामग्रीको प्रवन्ध गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको फाल्गुनन्द एकता समाजका नेपाल संयोजक दीपेन्द्र चेम्जोङले जानकारी दिनुभयो ।

हिलिहाङ गाउँपालिकाका ग्रामीण क्षेत्रहरुमा कोरोनाभाइरसको सङ्क्रमण ब्यापक फैलँदै गइरहेको थियो । गाउँ–गाउँमा फैलिएको सङ्क्रमण नियन्त्रणका लागि पर्‍याप्त परीक्षण हुन सकिरहेको थिएन । परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता खड्किएपछि हिलिहाङ गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका युवाहरुले गाउँपालिकावासीहरुले रु. एक लाख ५० हजार रकम सङ्कलन गरी उपलब्ध गराए । युवाहरुले वैदेशिक रोजगारीका क्रममा आफ्नो गाउँ–घर सम्झेर किट खरिदका लागि सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष लिङदेनले गाउँपालिकावासी युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सोही गाउँपालिकामै महामारीसँग लड्न हिलिहाङ–५ घर भई हङकङमा रहेका तारा सुहाङ र शान्ति सुहाङले संयुक्त पहल गरी रु. दुई लाख २५ हजार रकम जम्मा गर्नुभयो । उक्त रकम गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरिएको हिलिहाङ–५ का नवीन सुहाङले जानकारी दिनुभयो ।

तीन तहका सरकारवीच तालमेल

सदरमुकाम रहेको फिदिम नगरपालिकाले कोभिड–१९ अस्पतालदेखि अन्य पूर्वाधारको प्रवन्ध गर्नुपरेन । किनकी नगरपालिका भित्रै जिल्ला अस्पताल र दुई वटा निजी अस्पतालहरु छन् । यस हिसाबले नगरपालिकालाई महामारीमा धेरै लगानी गर्नु परेन । तर नगरपालिकाले आफ्नो दायित्व विर्सिएन । नगरपालिकाले कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि प्रदेश र संघीय सरकार मातहतका कार्यालयलाई सहयोग उपलब्ध गराएको छ ।

फिदिम नगरपालिकाले प्रदेश सरकार मातहतको पाँचथर जिल्ला अस्पताललाई कोभिड–१९ को सङ्क्रमण रोकथाम, परीक्षण तथा उपचारात्मक कार्यका लागि रु. २० लाख रकम उपलब्ध गराएको छ भने जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र पाँचथरलाई रु. छ लाख सहयोग उपलब्ध गराएको छ । जिल्लामा स्थानीय तहले प्रदेश र संघ सरकारका कार्यालयलाई यति ठूलो रकम अनुदान उपलब्ध गराएको यो पहिलो घटना हो ।

युवाहरुले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान

बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाहरुले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारहरुलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् । अभियानमा सम्लग्न युवाहरु स्वयंले रकम सङ्कलन गरी अभियानको सुरुआत गरेका थिए ।

अभियानमा देश तथा विदेशबाट सहयोग उपलब्ध हुने र सहयोग गर्ने क्रम जारी छ । हालसम्म ४४३ परिवारका १६६५ जनालाई सहयोग उपलब्ध गराइएको अभियन्ताहरुले जनाएका छन् । अभियन्ताहरुले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता ब्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् ।

सङ्क्रमितका परिवारलाई खाद्यान्न र औषधि वितरण

सङ्क्रमित तथा सङ्क्रमितका परिवारलाई खाद्यान्न, औषधि लगायत उपलब्ध गराउने क्रम समेत जारी छ । यस क्रममा स्थानीय तहहरु, दाताहरु लगायत लगायतले सहयोग गरिरहेका छन् । १५० जनाभन्दा बढी सङ्क्रमित रहेको जिल्लाको हिलिहाङ सुभाङमा सोही स्थानमा जन्म भई बेलायतमा रहेका सुहाङ परिवारले रकम सङ्कलन गरी पठाएका १०० बढी परिवारलाई सहयोग गरेका छन् ।

यस्तै नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ पाँचथरले कोरोनाभाइरस सङ्क्रमितहरुलाई घर–घरमा औषधि, गेडागुडी, स्वास्थ्य सुरक्षाका सामग्री पुर्‍याई वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका सङ्क्रमितहरुलाई संघले डी–कोल्ड, प्यारासिटामोल, भिटामिन सी लगायत पाँच प्रकारका औषधिहरु, गेडागुडीहरु, मास्क, सेनिटाइजर, साबुन लगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको हो । सामान्य स्वास्थ्य समस्याका लागि स्थानीय स्वास्थ्यकर्मीको परामर्शमा लिन मिल्ने औषधिहरु, झोल पदार्थका लागि विभिन्न प्रकारका तीन किलोका दरले गेडागुडी तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको संघका अध्यक्ष कमल थपलियाले जनाकारी दिनुभयो ।

हौसला बढाउन सङ्क्रमितका घर–घरमा पुगेर परामर्श

पाँचथरमा कोरोनाभाइरसका सङ्क्रमितहरुको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरु घर–घरमा पुगेर सुझाव र परामर्श दिने क्रम जारी छ । जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा टोली बनाई घर–घरमा पुगेर होम आइसोलेसनको अवस्था बुझ्ने, सङ्क्रमितहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने, होम आइसोलेसनमा बस्न समस्या रहेको भए सो को जानकारी लिने, आवश्यक सुझाव र परामर्श दिने काम गरेको टोलीले गरिरहेको छ ।

टोलीमा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु, प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जिव यादव, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, वडाध्यक्षहरु लगायत सहभागी हुँदै आउनुभएको छ ।

सङ्क्रमितलाई आयुर्वेदिक औषधि र उत्प्रेरणा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरले यहाँका कोरोनाभाइरस सङ्क्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण गर्नुका साथै उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले फिदिम स्थित अस्थायी कोभिड अस्पतालमा रहेका सङ्क्रमितहरुलाई परामर्श, योग तथा प्राणायमका विधिहरु सिकाउँदै आएको छ । केन्द्रले अत्यधिक सङ्क्रमित रहेका जिल्लाको फिदिम नगरपालिका सहित हिलिहाङ, याङवरक, फाल्गुनन्द लगायत गाउँपालिकाका टोल वस्तीमा पुगेर औषधि सेवन गर्ने, सामान्य स्वास्थ्य समस्याका निदान गर्ने, योग तथा प्राणायम गराउने विधिबारे जानकारी गराएको छ । केन्द्रले स्थानीय स्तरमा उपलब्ध जडिबुटी तथा औषधिहरु प्रशोधन गरी प्रयोग गर्न सङ्क्रमितका आफन्तलाई सुझाएको छ ।

“गाउँघरमा उपलब्ध गुर्जो, तुलसी, बेसार, अदुवा, ज्वानो जस्ता जडिबुटीलाई मिलाएर खान सके शरीर स्वस्थ र दह्रो भई कोभिड–१९ बाट मानिस चाँडो सङ्क्रमणमुक्त हुन सक्छन्”, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक खगेन्द्र पौडेलले भन्नुभयो “जडिबुटी सेवन, स्वस्थ जीवनशैली र खानपान, योग, प्रणायाम जस्ता कुरामा जोड दिन हामीले सचेतनामुलक कार्यक्रम आयोजना गरेका हौँ ।” पौडेलका अनुसार ज्वरो, रुघा, खोकी जस्ता स्वास्थ्य समस्या हटाउने, खाना रुचाउने आयुर्वेदिक औषधिहरु सङ्क्रमितलाई वितरण हुँदै आएको छ । हालसम्म केन्द्रले रु. दुई लाखभन्दा बढीको आयुर्वेदिक औषधि सङ्क्रमितहरुलाई वितरण गर्नुका साथै योग, प्राणायम र स्वस्थ जीवन पद्धतिबारे जानकारी गराउँदै आएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा सङ्कटको घडीमा जिल्लाका जिल्लामा देखिएको समन्वय, सबै पक्षले महामारी नियन्त्रणका लागि लिएको पहल र प्रयासले महत्वपूर्ण कामहरु भएको वताउनुहुन्छ । “सङ्क्रमितका घर–घरमा पुग्नेदेखि सहजै उपलब्ध हुन नसक्ने स्वास्थ्य उपकरण र सामग्रीको जोहो गर्न जिल्लावासी सफल भयौँ”, सापकोटाले भन्नुभयो, “यो हामी सबैको सामूहिक प्रयासको परिणाम हो ।” विगतदेखि देखिएको सामूहिक प्रयास र प्रयत्नका अभ्यासले यस पटक पनि सार्थकता पाएको भन्दै उहाँले जिल्लालाई समस्यामा एकजुट बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद समेत दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल पाँचथर जिल्लामा समस्याका बेलामा देखिने एकता, सहकार्य र समन्वय सबैले मनन गर्न लायक रहेको वताउनुहुन्छ । सामूहिक प्रयासले जिल्लामा १५० थानभन्दा बढी अक्सिजन सिलिण्डर, ३५ थान बढी अक्सिजन कन्सन्ट्रेटर, १०० थान बढी पल्स अक्सिमिटर, पाँच थान मल्टीपारामिटर प्यासेण्ट मोनिटर लगायत सामग्री जम्मा भएका छन् । छोटो समयमै यत्तिका सामग्रीको प्रवन्धले सङ्क्रमित ५० जना बढीले फिदिममै लेभल–१ को उपचार पाएको पाँचथर जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्